दुर्गा प्रसाईंका समर्थकद्वारा ट्रकमा आगजनी, झापामा ‘चक्काजाम’
झापा । बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थक विरोधमा उत्रिएका छन् । विरोध प्रदर्शनका क्रममा प्रसाईंका समर्थकहरुले दुईवटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।
आइतबार राति करिब ११ बजे कनकाई–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा भारतीय ट्रक आगजनी गरेका हुन् । उक्त ट्रक प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ ढुवानीमा प्रयोग भएको थियो ।
बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा प्रहरीले ट्रकको आगो निभाएको थियो । आगो धेरै फैलन नपाए पछि ट्रकको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
यसैगरी, प्रसाईका समर्थकहरुले सोमबार बिहान बिर्तामोड–६ गिरीबन्धु टी इस्टेट अगाडि पूर्वपश्चिम राजमार्गमा अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् । सुनसरीको दुहबीबाट काँकडभिट्टा जाँदै गरेको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रसाईं पक्राउ परेको विरोधमा समर्थकहरुले सोमबारका लागि झापामा चक्काजाम आह्वान गरेका छन् । यसअघि आइतबार प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई छन् ।
