रम्बास कविता: असमेली नेपाली काव्य जगतको फसल

न् २०२० मा असममा जन्मियो कविताको एक अभिनव आयामेली उपविधा ‘रम्बास’ कविता। आजसम्ममा भारत र नेपाल गरेर एघारवटा सङ्ग्रह प्रकाशमा आए। अझै प्रकाशित हुँदैछन्। रम्बास कविता सम्मेलन भयो। विश्वभरिका लगभग अढाई सय जति कविले यसलाई रुचाएर कविता रचना गरिरहनुभएको छ। असमको भूमिबाट नेपाली काव्य साहित्यको भण्डारमा यो रम्बास कविता एक नयाँ संयोजन हो- देन हो।

सैद्धान्तिक अथवा वैचारिक यथास्थिति हानिकारक हो भनेर विज्ञजनहरूले भने पछाडि साहित्यमा नयाँ नयाँ आयामीक विचारधारा फस्टाउन थालेको स्पष्ट देखिन्छ। उत्तर आधुनिक साहित्यले नेपाली साहित्यमा स्वच्छन्दवाद, मायावाद, भयवाद, रङ्गवाद, बिम्बवाद, यथार्थवाद, अतियथार्थवाद, अभिघात सिद्धान्त, तेस्रो आयाम आदिको उद्भावन गरेपछि यथास्थितिको पर्खाल तोड्ने आन्दोलन शुरु भयो। चलिरहन्छ यो ज्ञानपिपाषुहरूको अन्वेषण।

पहिले कहिल्यै नजानेका नसुनेका सिद्धान्तहरू साहित्यमा उब्जिन थाले। साहित्यका रूखमा नयाँ हाँगा पलाउन थाले। सबभन्दा धेर हाँगा सायद कविताकै रूखमा होलान्। नेपाली कविताले करिब २५० वर्ष नाघिसकेको छ। यस यात्रामा एकातिर पूर्वस्थापित  सिद्धान्तका रूप यथावत् राखेर सिर्जना भइरहेका छन् भने अर्कोतिर नयाँ आयामेली शैलीको सृष्टि पनि निरन्तर भइरहेको छ। 

कुनै पनि  सिद्धान्त स्थिर हुँदैन भन्ने कुरा  समय समयमा प्रमाणित भइसकेको छ। यो कुरा केवल साहित्य मात्रै नभएर सबै विषयमा लागू हुन्छ। यथास्थितिको परिवेशमा साहित्यको विकास मन्द हुने डर हुन्छ। सिर्जनाको क्रममा कविताका लघु र लघुतम उपविधाहरू सृष्टि भए।

नाम लिनु पर्दा मुक्तक, हाइकु, रम्बास, सिजो, ताङ्का, सेनर्यु, सेन्यू, सेदोका, रूबाइ, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, टुक्का कविता, छोक, कुट पद्य, शायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, केस्रा, खिचडी, युग्मक , आगो, शीत आदिको नाम लिनुपर्छ । यी भित्रमा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेनर्यु, सेन्यू, सेदोका, रूबाइ, शायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, पिरामिड आदि अनेपाली  साहित्यको देन हो भने बाँकी रहल नेपाली साहित्यको उपज हो। यी सबैको जन्मथलो असम बाहिर हो।

कुनै पनि  सिद्धान्त स्थिर हुँदैन भन्ने कुरा समय समयमा प्रमाणित भइसकेको छ। यो कुरा केवल साहित्य मात्रै नभएर सबै विषयमा लागू हुन्छ। समय परिवर्तनको साथसाथै मान्छेको रूचिमा पनि परिवर्तन आउनु स्वाभाविक हो र सोही अनुसार सिर्जनात्मक कामहरू हुनुपर्छ।

यस लेखमा केवल रम्बास कविताको बारेमा मात्रै चर्चा गरिनेछ। ‘एउटा नयाँ विचार सृष्टि गर्ने मान्छेलाई तबसम्म बौलाहा ठानिन्छ जबसम्म त्यो विचार स्थापित हुँदैन।’- यसरी नै भनेका थिए अमेरिकी ध्रुवतारा मार्क टोवैनले। प्रयोगले नै विचार स्थापित हुन्छ। अभिनव सृष्टि प्रतिपादनको आधार पनि प्रयोग हो- त्यो साहित्य नै होस् अथवा अरू कुनै विषय। प्रयोग पश्चात् प्रचलनले त्यसको सिद्धान्त स्थापित हुन्छ। 

उत्तरआधुनिक कालमा प्रयोगवाद एउटा मुख्य कारक भएकाले सृष्टिका नयाँ नयाँ रूप हामीले देख्न पाएका छौँ- साहित्यदेखि स्थापत्यसम्म। स्थापित सिद्धान्त बाहिरको विषय हिजोसम्म एकप्रकार निषिद्ध क्षेत्र ठानिन्थ्यो र त्यस्ता क्षेत्रमा जानु दु:स्साहस मानिन्थ्यो। तर अनुसन्धित्सु मन नयाँको खोजीमा सबै स्थापित पर्खाल नाघेर केही व्यतिक्रमी आविस्कार गर्न लालायित हुन्छ।  

नयाँ चीज जतिको  उत्सुकताको विषय हुन्छ पुरानो पनि परिक्षण र प्रचलन पछि उत्तिकै काम्य र दिगो हुनसक्छ। पुरानाको संरक्षण र सम्बर्द्धन हाम्रो रूचि र आवश्यकता माथि निर्भर गर्छ भने नयाँको स्थायित्व पनि हाम्रो रूचि र आवश्यकता माथि निर्भर गर्छ। यति कुरा मैले रम्बास कविताको सन्दर्भमा उल्लेख गर्नुपरेको हो।

अरूले गरेको भन्दा भिन्नै केही- व्यतिक्रमी कविता लेख्ने प्रयोगको फसल हो यो शैली। कसैलाई हास्यास्पद लाग्यो- कसैले चमत्कार भने। शुरूवातमा केही महिनाको अभ्यास पछि एउटा आकार लियो कविताले। नियम पनि बनाएँ ताकि कविताको नियमभित्र परोस्। त्यसपछि सबैका परिचित र साहित्य एकाडेमीबाट पुरस्कृत, ज्ञान बहादुर छेत्रीलाई देखाएँ। ऊर्जा अझ थपिदिनुभयो। “कसैले लेखून नलेखुन, अनुसरण गरुन् नगरुन्,  जेसुकै भनुन, तपाईं लेख्न नछाड्नु।’- अक्षरस् यसरी नै भन्नुभएको थियो।

नामाकरणको समयमा पनि ज्ञान बहादुर छेत्रीले आकृतिमा “रम्बास” जस्तो छ, यो नाम राम्रो होला भनेपछि मलाई पनि साह्रै मन पर्‍यो। “आज नेपालीमा कविता लेखियो, भोलि अरू भाषामा पनि लेखिएलान्। त्यतिबेला नामले आकर्षण बढ्नसक्छ।” मैले सोचेँ। त्यस्तै भयो पनि। मैले असमियामा दुईचार रम्बास कविता सामाजिक सञ्जालमा छाडेपछि  केही असमिया भाषीले लेख्नथाले। त्यसमा प्रमुख हुन चर्चित कवि अजित कुमार हाजरिका। नेपाली कविका पनि आए। बिहालीकी कवि राधिका उपाध्यायले बङ्गालीमा लेख्नुभयो। विश्वनाथका चित्र पौडेलले हिन्दीमा लेख्नुभयो। आमटेकाका दिवाकर नेउपानेले संस्कृतमा लेख्नुभयो। उच्चारण गर्न सजिलो, धेरैजसोले सुनेको शब्द अनि सर्वग्राह्य। तसर्थ रम्बास नामले न्वारान भयो।

त्यसपछि सामाजिक सञ्जालमा छाडेँ। प्रकाश कुइँकेलभाइले लेखेर पोस्ट गरे। हिम्मत आयो।त्यसपछि अर्जुन उप्रेती, जगन्नाथ उपाध्याय, चन्द्र भट्टराई, गीताश्री शर्मा, खडानन्द दुलाल, देवीचरण सेडाइँ, पुरुषोत्तम दाहाल, भीम धमाला, दीपक दवाडी आदिले लेख्न थालेपछि सफलताको आनन्द पाउन थालेँ।  परिवेश बनियो अनि २०२१को तेह्र फेब्रुअरीमा गोलियामा भएको अनेसासको केन्द्रीय अधिवेशनमा मेरो पहिलो कृति रम्बास कविता सङ्कलनको रूपमा “तानाबाना”को लोकार्पण भयो। सहयात्री जोडिँदै गए।  हाम्रो यहाँ व्याकरण शुद्ध लेख्न अप्ठ्यारो भएको समस्या समाधान गर्न प्राध्यापक देवीचरण सेडाईँले कम्मर कस्नुभयो। जतिसक्दो सिकियो।

सिक्किम, दार्जिलिङ, म्यानमार र नेपालदेखि पनि फट्याकफुटुक देखिन थाले। त्यसपछि रम्बास कविताको जनप्रियता कति हो त्यो हामीले २३-२४ अप्रिल २०२२ मा जागुनमा भएको “नेपाली साहित्य विकास समिति, तिरापले आयोजन गरेको साहित्य-संस्कृति समारोह-२०२२’ मा देख्न पायौँ। रम्बास कविताको कुम्भमेला सरी थियो त्यो कार्यक्रम जहाँ कवितामा डुबुल्की लगाउन काठमाडौ, बिराटनगर, दार्जिलिङ र सिक्किमदेखि काव्यप्रेमी भेला भएका थिए। गए वर्षको नभेम्बर महिनामा विमोचित अन्तर्राष्ट्रिय नारी अङ्क “काव्याञ्जलि” पनि एउटा उल्लेखनीय उपलब्धि हो।

हामीले जानेका सबै विषयमा शोध र खोज भइरहेको छ अनि फलस्वरूप नयाँ नयाँ चीजको आविष्कार, रूप परिवर्तन, धारणा परिवर्तन, संस्करण इत्यादी भैरहेको छ। यो कुनै नयाँ विषय हैन। प्रकृतिको नियम पनि यही हो। प्रचलित धारा बाहिरको खोजीमा पनि अन्वेषकहरू व्यस्त छन्। यस्तै अवधारणामा आधारित छ यो रम्बास कविता। अक्षर गन्ती गरेर कविता लेख्ने चलन पौराणिक हो, तर एक निर्दिष्ट आकृतिमा त्यही नियमलाई अनुसरण गरेर र साथै अरू केही थप नियम मानेर कविता लेख्नु प्रयोगवाद हो, उत्तर आधुनिक कालको उपज हो।

असमको ब्रह्मपुत्र उपत्याकाको मलिलो साहित्य फाँटमा उब्जिएको चतुष्कोणी आकृतिको रम्बास कविताले काव्य विधामा सिर्जना गर्नेहरूको दृष्टि आकर्षण गर्न सफल भएको छ। नाति-ह्रस्वदीर्घ स्वरूपको रम्बास कविताले एक विशेष स्वाद खोज्ने पाठकलाई तृप्त पार्न सक्छ।

यस कविताबारे निकै लेख लेखिए, छापिए, सकारात्मक र नकारात्मक दुवै प्रकारका टिप्पणी आए। केही उपलब्धि भएकोले समालोचना भएको रहेछ भन्ने बुझियो। यो हाम्रो (रम्बास कविताप्रेमी) लागि साह्रै उत्साहजनक प्रगति हो। नेपालका युवा साहित्यिक समालोचक दीपक सुवेदी र असमका देवीचरण सेडाईँले यस उपविधाको सैद्धान्तिक अवधारणा तैयार गरिदिनु हाम्रो लागि प्रेरणादायी ऊर्जा थियो। 

प्रारम्भमा रम्बास कविता लेख्ने हामी केहीले समिधा हालेर अग्नि प्रज्वलन गर्ने बेलामा डम्बर दाहालसर र मोहन सुवेदीले पनि सामाजिक सञ्जालमा घिऊ सरह दुईचार कविता पोस्ट गरेर  यसको ज्वाला अझ देदीप्यमान पार्नु यस काव्ययात्रामा टर्निङ् पइन्ट थियो। यसपछि खडानन्द दुलाल शर्मा र पुरुषोत्तम उपाध्यायको साहित्यप्रेमरूपी  सामियाना तल नेपालीभाषी काव्यप्रेमी हरूको रम्बास कविता सङ्कलन “वर-पिपल” निकाल्ने जमर्कोले यो उपविधाले चाहिएको गति भेट्टायो जसको लागि हामी सदैव वहाँहरू दुवैको चिरऋणी रहनेछौँ।

रम्बास कविता र कविता विधाका अरू कवितामा भावनात्मक रूपले केही फरक छैन। न यो ठ‍ोस कविता हो न चित्र कविता। यी दुबैको परिभाषादेखि टाढा छ रम्बास कविता। पहिले जसले पनि चित्र कविता लेखे त्यसमा कुनै सैद्धान्तिक अवधारणा पाइदैन। केवल अक्षरले कुनै वस्तुको आकृति दिनुमात्र थियो। त्यसदेखि बाहेक अरू केही नियम थिएनन्। विषयवस्तुसँग सम्बन्धित पक्षलाई चित्रको रूपमा कविता लेख्नु र केवल चतुष्कोणी रम्बास आकृतिमा सय अक्षर र उन्नाइस स्वतन्त्र  पङ्क्तिमा जीवन र जगतका समस्त विषयमा कविता लेख्नुमा निश्चयै आकाश पातालक‍ो फरक छ। एक निर्दिष्ट नियममा रहेर, अक्षर गन्ती गरेर,  काव्यसाधना गर्नु पुर्वेली साहित्यको परम्परा हो।

रम्बास कविता पनि त्यही परम्पराको निरन्तरता हो। यदि हाम्रा अग्रजहरूले नियमानुसार रचेका छोटा श्लोक, छन्दकविता, मुक्तक, हाइकु आदि अनेकौँ कविताहरू स्थापित उपविधा हुनभने रम्बास कविता पनि समतुल्य धारणाको हो। यो ठोस वा चित्र कविता नभएर बान्की परेको एक नयाँ आयामेली कविताचित्र हो। परिवर्तनको चिरप्रवाहमा सबैथोकक‍‍ो रूप, आकृति, धारणा आदिमा प्रभावपर्छ। युगको माँग र लेख्ने  उपकरणको सुलभ्यताले रम्बासजस्ता कविता निस्कनु अस्वाभाविक  होइन। रम्बास कविता त केवल अभिनव प्रयोग, कला र काव्यिक अनुभूतिको सम्मिश्रणले सृष्टि भएको आयामेली कविता हो। रम्बास कविता लेख्दा हामीले केही सुविधा र केही असुविधा नपाएको पनि हैन।

सुविधामा यसको नातिह्रस्वदीर्घ रूप, नेपालीमा शब्दको प्राचुर्य, मोबाइल र लेपटपमा आकृति मिलाउने सुविधा इत्यादि छन् भने असुविधामा मुख्यतः मोबाइल र लेपटप चलाउन नजान्नु, एकै अर्थ बुझाउने विकल्प शब्दको कम जानकारी आदि  नै हुन। यसले कम्ती नै सही, अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा उपस्थिति दर्जा गराइसकेको छ। मेरो रम्बास कविता सङ्कलन “तानाबाना” पछि भोलाझारका अर्जुन उप्रेतीले रम्बास र गद्यकविताको संमिश्रण सङ्कलन प्रकाश गर्नुभयो। 

जागुनमा भएको साहित्य समारोहमा बयानब्बेजना राष्ट्रिय अन्तराष्ट्रिय कविको कविताले सजिएको रम्बास कवितासङ्ग्रह ‘वर-पिपल’को साथै सिक्किमकी गीताश्री शर्माको “तिलस्मी”, गहपुरका डा: जगन्नाथ उपाध्यायको “कलनाद”,  अर्जुन उप्रेतीको “सयपत्री” र विश्वनाथका गिरीधारी उपाध्यायको “शालिग्राम” लोकार्पण भइसकेको छ।

नेपालमा पनि शेषमणि आचार्यको ‘ डाली’, एलपी पराजुलीको ‘काव्यसुधा’, शिवकुमार श्रेष्ठको ‘नियात्रा’ र ज्ञान बहादुर छेत्रीको “अनुभूति”  प्रकाशित भएकाछन्। सबै मिलाएर अहिलेसम्म यस छोटो अवधिमा एघारवटा रम्बास कविताका पुस्तक छापिएका छन्। असमदेखि नेपाली साहित्यको चरणमा अर्पण गरेको हाम्रो काव्याञ्जली हो यो रम्बास कविता शैली।

एउटा उदाहरण (रचनाः पंक्तिकार स्वयं)-


प्रतिक्रिया

4 thoughts on “रम्बास कविता: असमेली नेपाली काव्य जगतको फसल

  1. मेरो यस लेखलाई यहाँ स्थान दिएर मलाई ऋणी बनाउने सरल पत्रिकालाई अजस्र धन्यवाद छ। फलोस् फुलोस् मगमगाओस् यो पत्रिका।

  2. बहुतै सुन्दर तथा स्वच्छ, युक्तिपूर्ण शब्दहरूको संयोजनले सजिएको एक महत्वपूर्ण र सान्दर्भिक लेख प्रस्तुत गर्नु भएको छ।आशा छ आउँदा दिनहरूमा रम्बास कविता विधाले सर्व मान्यता प्राप्त गर्ने छ।

  3. पढेँ, आद्योपान्त पढेँ। रम्बास सृजनाको मूल फुटेदेखि विभिन्न ढुङ्गा मुढामा ठक्कर खाँदै एउटा सानो झरना आफ्नो बाटो बनाउदै काव्यप्रमी हृदयहरू सिञ्चित पार्दै आज एउटा ठूलो नदी बनिसकेको छ।
    नेपाली साहित्य जगतमा रम्बास विधाले बिल्कुल नौलो प्रयोग भित्राएको छ । जो फरक बनौट, लेखन कौशल र छोटो मीठो गहकिलो विशेषताका कारण कविता लेख्न रूचाउनेहरूको लागि आकर्षक विधाको रुपमा स्थापित भइसक्यो।
    विज्ञान, गणित, व्याकरण आदि विषयमा निश्चित सुत्र र सिद्धान्त अनिवार्य भएजस्तै एउटा सम्पूर्ण उत्कृष्ट रम्बास कविता बन्नलाइ केही ज्यामितिय, गणितीय साथै भाषा व्याकरणको नियम पालन गर्नैपर्छ नत्र यो बेकार बन्छ। परिधिभित्र बसेर सृजना गर्नुमा दिमागको खुब कसरत हुदोरहेछ, त्यसैले भाषाको ज्ञान बढने, शब्द शब्दको जानकारी हुने र लेखन कौशल बिकास हुँदोरहेछ। रम्बास लेख्ने बानी परेपछि कविता लेख्न खुबै मज्जा आउछ।

    रम्बास कविताको केही नियमको वर्नण ( जो बुझ्न सजिलो होस) मेरो स्वरचित कवितामा गरेको छु-
    हे प्यारी, रम्बासुन्दरी,
    शब्दालङ्कारको खजानाले भरिएकी तिमी,
    एक देखि उनान्सय सम्म नै गनि गनि,
    सुन-चाँदी, हिरा-मोतीका सबै लायौ छानि छानि,
    बिछट्टै सजिएकी उनी, मेरी आँखाकी नानी।
    शिरमा शिरोमणि “चन्द्र” गहना लाउने,
    निधारमा एकतारे टीका टल्काउने,
    कानमा लुर्कना दुबै सुहाउने खुबै,
    गलामा सजिन्छ नौगेडी सँधै।
    कम्मरमा दसहाते पटुकी कसेर,
    कसरती बदन बनाउन लाग्यौ,
    मोटोपनको मोह त्यागी छरितोमा रम्न जान्यौ,
    आद्योपान्त वर्णन के गरौँ प्रिये, 
    तिमीमा रम्न चाहनेलाई कामवाणले हान्यौ”।

    असमको परिसीमा नाघेर केही बर्षमै यदले नेपाली साहित्यको विश्व व्यापी पर्यायमा आदर भेटेको पाइयो। रम्बास कविता संकलन प्रकाशित हुनुका साथै धेरै वटा साहित्यिक पत्रिका, ई- साहित्य पोर्टल आदिमा पनि छापिन थालेका छन।
    अन्तमा सबैलाई रम्बास कविता लेखौँ, पढौँ भन्ने आग्रह गर्दछु ।धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *