विद्यालय शिक्षा ऐन चाँडै पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने तयारी भइरहेको बताएकी छन् । राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौँमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको जानकारी उनले दिइन् । हाल देशमा आधारभूत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यी संस्थाहरूलाई व्यवस्थित गर्दै जानुपर्ने जिम्मेवारी रहेको बताइन् ।
मन्त्री भट्टराईले सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको बताइन् । सामुदायिक विद्यालयमा हाल १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको उनले बताइन् । उनले माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताइन् ।
विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारूप तयार गरी सुरु गर्ने योजना बनाएको जानकारी पनि उनले दिइन् ।
मन्त्री भट्टराईले भनिन्, ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौँ ।’
