मनमोहन विश्वविद्यालयमा अस्पताल व्यवस्थापन पनि पढाइने

विराटनगर । नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्तावहरू पारित गर्दै कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो साधारण सभा सकिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले भदौ ३० गते सभा उद्‌घाटन गरेका थिए ।

त्यस अवसरमा कार्कीले प्रदेश सरकारको गौरव भएकोले प्राविधिक विश्वविद्यालयको स्तरोन्नतिमा विशेष चासो दिने बताए ।

उनले छोटो समयमा विश्वविद्यालयले उल्लेख्य प्रगति हासिल गर्न सफल भएकोमा पदाधिकारी र कर्मचारीहरूको प्रशंसा गरे । वर्षभित्र मनमोहनलाई स्वास्थ्यतर्फका प्राविधिक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेगरी प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।  

सभामा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले नेपालको पहिलो प्राविधिक विश्वविद्यालयलाई कोशी सरकारले गौरवका रुपमा लिएर भौतिक संरक्षण निर्माण र शैक्षिक कार्यक्रमहरू सञ्चालनमा चासो दिनुपर्नेमा जोड दिए ।

उनले मनमोहन आफ्नै पहिचान बोकेको मध्यमदेखि उच्चस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भएको जानकारी गराउँदै इन्जिनियरिङ, मेडिकल एण्ड अप्लाइड हेल्थ र साइन्स एण्ड टेक्नोलोजी सफलतापूर्वक सञ्चालन भइरहेको बताए ।

विश्वविद्यालयले यसै वर्षदेखि अस्पताल व्यवस्थापन विषयमा पठनपाठन गराउन विद्यार्थी भर्ना लिइसकेको र चाँडै व्यवस्थापन, कानुनमा पनि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए । उपकुलपति पोखरेलले विभिन्न ल्याबहरू स्थापना गरेर सञ्चालनमा ल्याइसकेको मोरङको बुढीगङ्गा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले चाँडै मेडिसिन टेस्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना बनाएको जनाए ।

पूर्वमन्त्री तथा विश्वविद्यालय संरक्षण समिति सदस्य जीवन घिमिरेले कोशी प्रदेश सरकारले आफ्नो गौरवको मानेर लगानी बढाएमा विश्वविद्यालयले अझै तीब्र रुपमा गति लिने बताए । सभासद मुकेश उपाध्यायले प्राकृतिक योग चित्किसाको पढाई सञ्चालन गर्न विश्वविद्यालयले विशेष चासो दिनुपर्ने आग्रह गरे । उनले नेचुरोप्याथी (प्राकृतिक चिकित्सा) मा पाठयक्रम तयार भइसके पनि बजेट अभावमा कक्षा सञ्चालन हुन नसकेको बताए ।

सभासद प्रकाशनारायण चौधरीले विश्वविद्यालयले चाँडै आवश्यक भौतिक संरचना निर्माण गरी दक्ष जनशक्ति नियुक्त गरी सबै स्कुलका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सकेमात्र आफ्नो पहिचान विशिष्ट बनाउन सक्ने बताए ।

सभासद गीता रेग्मीले चाँडै प्रदेशका बाहिरी जिल्लामा पनि मनमोहन विश्वविद्यालयले आङ्गिक क्याम्पसहरू स्थापना गर्नुपर्नेमा जोड दिइन् । सभामा मनमोहनका रजिष्टार डा. दिलनाथ फुँयालले विश्वविद्यालयले उत्पादित जनशक्तिलाई रोजगार दिलाउन अधिकृत नियुक्त गरिसकेको र चाँडै विभाग गठन गर्ने जानकारी दिए । उनले इकाई गठन गरेर व्यवस्थित रुपमा ‘अर्न टु लर्न’ कार्यक्रम पनि सञ्चालन गर्न लागेको बताए ।

सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने प्रस्तावसहित चालु आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेटका कार्यक्रमहरू पारित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *