मोहम्मद जयन्ती मनाउँदै मुस्लिम समुदाय
मोहम्मद जयन्तीका अवसरमा विराटनगरमा निकालिएको र्यालीका सहभागी । तस्बिर सौजन्यः वसिम आलम
विराटनगर । मुस्लिम धर्मावलम्बीहरू सोमबार विभिन्न कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदैछन् । यस अवसरमा देशभरिका मुस्लिम धर्मावलम्बीहरूले विविध कार्यक्रमको आयोजना गर्दै छन् । विराटनगरसहित मोरङका विभिन्न स्थानमा सद्भाव र्याली निकालिएको छ । यसैगरी सुनसरीका विभिन्न ठाउँमा पनि यो दिवस मनाइँदैछ ।
यस जयन्तीका अवसरमा सरकारले नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले बिदा दिइएको उल्लेख गरेको छ । यसै अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

यस अवसरमा मुस्लिम धर्मावलम्बी बसोबास गर्ने बस्तीहरूमा सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएको छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीले सद्भाव र्याली आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ ।
धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाइएको हो । इस्लाम परम्पराको हिजरी सम्वत अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ ।

