धनकुटामा खुकुरी प्रहार गरी गर्भवती श्रीमतीको हत्या

धनकुटा । धनकुटाको महालक्ष्मीमा एक व्यक्तिले खुकुरी प्रहार गरी गर्भवती श्रीमतीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–१ का ३० वर्षीय विजय दर्जीले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य विवादका क्रममा उनले शनिबार राति २५ वर्षीया श्रीमती सरिता दर्जीको हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमतीको पेटसहित शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेपछि आफैँलाई पनि प्रहार गरेको पाइएको धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

आफ्नै पेटमा समेत खुकुरी प्रहार गरी गम्भीर घाइते भएका विजयको धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दर्जी दम्पतीका ११ र ५ वर्षका दुई छोरी रहेको आफन्तले बताएका छन् ।

डीएसपी महर्जनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आफन्त र छिमेकीले विजयको मानसिक अवस्था ठिक नभएको र बेला बेला आक्रामक हुने गरेको जानकारी दिएका छन् ।

हत्या गरिएकी सरिता गर्भवती भएको आफन्तले बताएको उल्लेख गर्दै डीएसपी महर्जनले शवको पोस्टमार्टमपछि विस्तृत जानकारी हुने जनाए । प्रहरी टोली पुगेर स्थानीय बासिन्दासँग सोधपुछ गर्ने लगायत प्रारम्भिक चरणको अनुसन्धान सुरु गरिसकेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *