अर्गानिक उत्पादनमा फर्कन नेपाललाई भारतीय कृषि वैज्ञानिकको सुझाव

विराटनगर । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषि क्षेत्रको अबको बाटो अर्गानिक उत्पादन भएकाले यसैमा जोड दिनुपर्ने बताएका छ । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिर्जना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरूले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा भइरहेको कृषि एक्स्पोमा भएको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । भारतका कृषि वैज्ञानिकले नेपाल र भारतमा बढ्दो रासायनिक मलखाद तथा विषादीको प्रयोग चिन्ताको विषय भएको बताए ।

पश्चिम बङ्गालका कृषि वैज्ञानिक डा. कन्चन भौमिकले आफूहरू विगत १५ वर्षदेखि भारतमा अर्गानिक अभियानमा सक्रिय भएको र यो विभिन्न राज्यस्तरमा फैलाइएको सुनाए ।

उनले भने, ‘नेपालले पनि वार्षिक रुपमा दुई लाख ७० हजार टन युरिया लगायत रासायनिक मलखाद खरिद गर्ने गरेको छ । सानो देशको लागि यो ठूलो परिमाण हो । अब नेपाल अर्गानिक रुपमा अघि बढ्नु पर्छ ।’

भौमिकले आफूले ६ वर्ष अघिदेखि पूर्वी नेपालको झापा र इलाम तथा मधेश प्रदेशमा अर्गानिक अभियानका लागि प्राविधिक सहयोग गर्दै आएको बताए । जैविक मलको उत्पादन तथा यसको प्रयोग सिकाउन किसानहरूसँग मिलेर काम गर्दै आएको मौमिकले उल्लेख गरे ।

यसैगरी, उडिसाका कृषि वैज्ञानिक डा. बरिकले अहिले विश्वको चुनौती नै रैथाने बालीका बीउ जोगाउने भएको बताउँदै नेपालले समेत आफ्ना मौलिक बीउ जोगाएर त्यसको खेतीमा जोड दिनुपर्ने सुझाव दिए ।

उनले भने, ‘एउटा बीउबाट धेरै बिरुवा उमार्ने प्रविधि प्रापागेसन मार्फत रैथाने बीउ बचाउन सकिन्छ । यसको उत्पादन बढाएर किसानले धेरैभन्दा धेरै मूल्य समेत पाउन सक्छन् ।’

उनले भारतले प्रविधि विकास गरेर यसक्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दृष्टान्त पेश गरे । ‘विगतमा एउटा घरमा एउटा गाई वा भैंसी पाल्ने, दूध दुहुने र त्यसकै गोबर गहुँत खेतबारीमा लगाउने चलन थियो अब त्यो विस्तारै कम हुँदै जाँदा माटोको उर्वरा शक्तिमा पनि असर गरेको छ,’ उनले भने ।

उडिसाका कृषि वैज्ञानिक सुभाषिशा बलले फाइभ जी कृषि प्रविधिमार्फत भारतमा विकास गरिएको धानको प्रजातिका विषयमा जानकारी गराए । प्रविधि प्रयोगसँगै रैथाने बीउको प्रयोग गरी गरिएको उत्पादनबाट धेरैभन्दा धेरै आम्दानी लिन सकिने उल्लेख गरे ।

मानिसलाई चाहिने पौष्टिक पदार्थयुक्त धान उत्पादनमा अहिले भारत केन्द्रीत भएको भन्दै उनले भने, ‘विश्वभर सात लाख ५० हजार धानका प्रजाति छन् । भारतमात्र हामीले ८०० भन्दा धेरै प्रजातिमा काम गरिरहेका छौं ।’ उनले खाना विषादीरहित र सुरक्षित हुनुपर्ने बताउँदै जैविक मलको प्रयोगलाई बढाउनु पर्ने सुझाव दिए । ‘यान्त्रीकरण नराम्रो होइन तर हामीले विगतमा गर्ने परम्परागत तौरतरिका स्वास्थ्यका दृष्टिले पनि राम्रा थिए’ उनले भने ।

काठमाडौँ विश्वविद्यालयका कृषि कार्यक्रम प्रमुख डा. कुमार लामाले नेपालमा कृषि विज्ञानको पढाइ गर्ने क्याम्पसहरु वृद्धि भएको तर दक्ष जनशक्ति उत्पादन अहिले पनि चुनौती भएको बताए । ‘सैद्धान्तिक ज्ञान बढाएर मात्र हुँदैन’ उनले भने, ‘उत्पादन भएको जनशक्तिले व्यावहारिक रुपमै किसानसँग काम गरेर रिजल्ट दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *