विदेश पठाइदिने भन्दै ८ करोड लिएर फरार व्यक्ति खोज्दै प्रहरी
काठमाडौँ । वर्किङ भिसामा क्यानाडा पठाउने प्रलोभनमा पारी काठमाडौँको बसुन्धरास्थित जोजो हृयुमन रिसोर्स म्यानपावरले २५ जना युवाबाट ठूलो रकम ठगी गरेको खुलेको छ । प्रतिव्यक्ति १६ देखि २२ लाख रुपैयाँसम्म असुलेर उक्त म्यानपावरका सञ्चालक सन्दीप न्यौपाने सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
भदौ ३० गते १५ जना र असोज ६ गते १० जना युवालाई क्यानाडा लैजाने भन्दै न्यौपानेले युवाहरूबाट रकम असुलेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
क्यानाडा जाने सूचीमा १५ जना युवालाई शुक्रबारका लागि ओरिएन्टेसनका लागि भन्दै बोलाइएको थियो । युवाहरू म्यानपावर कार्यालयमा पुग्दा कार्यालय बन्द गरेर न्यौपाने सम्पर्कविहीन भएको थाहा पाएपछि उनीहरु महाराजगञ्जस्थित प्रहरी वृत्त पुगेका थिए ।
क्यानाडा जान ५ महिनाअघि नै म्यानपावर सञ्चालक न्यौपानेलाई रकम बुझाएका दोलखाको मेलुङ गाउँपालिका–५ आरु खोड्काका विष्णु खड्काले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा खबर गरेको बताए । पछिल्लो पटक उक्त म्यानपावरले क्यानाडासहित विभिन्न देश पठाउने भन्दै ६ देखि ८ करोड रकम उठाएर भागेको आशङ्का छ ।
क्यानाडा जानेबाट मात्रै कम्तीमा साढे ४ करोड उठाएको आशंका गरिएको छ । महाराजगन्ज वृत्तका डीएसपी रवीन्द्रनाथ पौडेलले क्यानाडा जान भनेर म्यानपावरलाई रकम बुझाएका युवाहरु शुक्रबार साँझ आफूहरू ठगिएको भनेर सम्पर्कमा आएको बताए । उनले रकम लिएर फरार भएका व्यक्तिको खोजीमा प्रहरी खटिएको जानकारी दिए ।
