विराटनगर महानगरलाई प्रश्न : नगर बस कहिले ?
विराटनगर । विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने भनेर घोषणा गरे पनि अहिलेसम्म कुनै प्रगति नहुँदा सर्वसाधारणको चासो बढेको छ । राजनीतिक दलले समेत यसमा चासो देखाएका छन् । घोषणा गर्ने तर कार्यान्वयनमा उति चासो नदिएपछि सरोकारवालाले ध्यानाकर्षण गराएका हुन् ।
यसैबीच, नगर बस सञ्चालन र जनचसोका अन्य विषयप्रति ध्यान दिन आग्रह गर्दै एमालेले मेयर नागेश कोइरालाको ध्यानाकर्षण गराएको छ । एमालेले दिएको ध्यानकर्षणपत्र बुझ्दै मेयर कोइरालाले दसैँअघि चारवटा नगर बस सञ्चालन गर्ने तयारी भइरहेको आश्वासन दिएका छन् ।
सुनसरीको इटहरीमा नगर बस सञ्चालनका लागि चारवटा बस चीनबाट आइसकेको छ । त्यसको परीक्षण पनि भएको छ । इटहरी उपमहानगरपालिकाले असोज १ गतेदेखि नगर बस सञ्चालन गर्ने घोषणा गरिसकेको छ । त्यसभन्दा अघि नै घोषणा गरिसकेको विराटनगर महानगरपालिकामा भने नगर बस सञ्चालनको चालचुल छैन ।
नेकपा एमालेले नगर बस सञ्चालन र अन्य कतिपय विषयमा ठोस काम अघि बढाउन महानगर नेतृत्वको ध्यानाकर्षण गराएको छ । विराट राजाको दरवार, प्रधानमन्त्री पार्क लगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरी समयसीमा भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने एमालेले उल्लेख गरेको छ ।
नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकालाई आफ्नो ध्यान विकास निर्माणमा केन्द्रीत गर्न आग्रह गरेको छ । निर्वाचित भएको २ वर्ष ५ महिना बिते पनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको एमाले मोरङले जनाएको छ ।

महानगर प्रमुख नागेश कोइराला महानगरको भन्दा अन्य अन्य स्थानीय तह र सरकारविरुद्ध पार्टीले सुरु गरेको विरोधका कार्यक्रममा सहभागी हुन थालेपछि एमाले मोरङले ध्यानाकर्षण गराएको हो ।
सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारका मुद्दाहरूमा ध्यान केन्द्रीत गर्न एमालेको आग्रह छ । २०७९ को स्थानीय तहको निर्वाचन पछिको करिब २ वर्ष ५ महिनाको अवधिमा महानगरसँग ठोस, प्रभावकारी एवं दीर्घकालीन योजनामा कमी भएको पाइएको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीको भनाइ छ ।
यो अवधिमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, सवारी पार्किङ व्यवस्थापन, सीमा नाकाबाट सामानको आयातमा रोक जस्ता निर्णयहरू गरेर त्यसको कार्यान्वयन गर्न नसक्नुले पालिका नेतृत्वको कार्यक्षमतामाथि विराटनगरबासीले गम्भीर प्रश्न खडा गरेको कार्कीले उल्लेख गरेका छन् ।
जनसरोकारका विषयमा गम्भीर भई विराटनगर विकास निर्माणको काममा गति दिन एमालेले महानगर नेतृत्वको ध्यानाकर्षण गराएको हो । विराट राजाको दरवार, प्रधानमन्त्री पार्क लगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरी समय सीमाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने, नगरपालिकाबाट सञ्चालन हुने नगर बस अविलम्व सञ्चालन गर्नुपर्ने, फोहरमैलामा देखिएको लापरवाहीको अन्त्य गर्दै फोहरमैलाको प्रशोधन र उचित व्यवस्थापन गर्नु पर्ने माग एमालेको छ ।

नगर बस सञ्चालन हुँदा सर्वसाधारणलाई धेरै राहत हुने भएको हुँदा यो अनिवार्य शुरु हुनु पर्छ । यसले ३ पाङ्ग्रे सवारि साधनलाई केहि प्रभाव पार्ने भए पनि छोटो दुरिको यात्रामा सहजता पक्कै ल्याउने छ । पर्साको वीरगञ्ज देखि बाराको पथलैयासम्म नगर बस सञ्चालनमा आउँदा तत्काल नयाँ बसहरु खरीद नगरि छोटो दुरिमा सेवा दिइरहेका बसहरुलाई नै नगर बसमा परिणत गराइएको कुरा यहाँ जोड्न चाहें ।