विशाल राईले जिते तिम्बुङ खुला ट्रेल रनको उपाधि
ताप्लेजुङ । प्रथम तिम्बुङ पोखरी खुला ट्रेल रन प्रतियोगिताको उपाधि पाँचथरको फिदिमका विशाल राईले जितेका छन् । बुधवार भएको प्रतियोगितामा भारतको सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो भए भने ताप्लेजुङको सिदिङ्वाका भरत बानियाँ तेस्रो भए ।
तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित रनमा तीन जना महिलासहित ३० जना सहभागी थिए । प्रतियोगिता ४२ सयदेखि ४३ सय ५० मिटरको उचाइमा गरिएको थियो । तिम्बुङ पोखरीबाट ७.८ किलोमिटरको दूरीमा पर्ने पाङ्दुवासम्म दौडनुपर्ने नियम थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० र तेस्रो स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । महिला सहभागी मध्ये सबैभन्दा पहिलो पाँचथरको फाल्गुनन्दकी निक्की नेम्बाङलाई १० हजार नगदसहित सम्मान गरियो ।
प्रतिक्रिया
