क्यानाडा पठाइदिने भन्दै ८ जनाबाट १ करोड ६५ लाख रुपैयाँ ठगी
काठमाडौँ । क्यानाडा पठाएर राम्रो कम्पनीमा काममा लगाइदिने भन्दै ठूलो रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ काठमाडौँको कलंकी बस्दै आएका २९ वर्षीय रणबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले शिवराम थापालगायत ८ जनालाई क्यानाडा पठाएर काममा लगाइदिने भन्दै प्रतिव्यक्ति ३५ लाखका दरले रकम माग गरेको प्रहरीले जनाएको छ ।
मासिक चार लाख रुपैयाँ तलब हुने काममा लगाइदिने भनेर उनले आश्वासन दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सबैसँग गरी १ करोड ६५ लाख रुपैयाँ उठाएर घर्ती सम्पर्कविहीन बनेका थिए। ठगिएको उजुरी परेपछि प्रहरीले उनको खोजी गरेको थियो ।
त्यस क्रममा भदौ २४ गते उनलाई काठमाडौँको बनस्थलीबाट पक्राउ गरिएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
