कहिले बन्छ नेपालटार-मङ्गलबारे सडक ?
तस्बिरः आशीष खनाल ‘माड्साब’
इलाम । लामो समयसम्म कच्ची अवस्थामा रहेको इलामको नेपालटार–मङ्गलबारे सडक कालोपत्रे भएपछि केही समय यात्रा सहज भएको थियो । व्यवस्थित भएपछि पहिले कच्ची सडकमा यात्रा गर्दाको जोखिम र अप्ठ्यारो यात्रुले बिर्सिएका थिए ।
२०७२ सालमा कालोपत्रे गरिएपछि उक्त सडकको यात्रा सहज भएको थियो । कालोपत्रे त गरियो तर नियमित मर्मत सम्भार हुन सकेन । त्यही कारण अहिले फेरि झण्डै पहिलेकै जस्तो अवस्थामा पुगेको छ । ठाउँ ठाउँमा क्षतिग्रस्त बनेको छ ।
पछिल्लो समय कालोपत्रे देख्न मुस्किल पर्छ । वर्षामा हिलाम्य हुन्छ भने अरु बेला धुलाम्य हुने गरेको छ । यातायातका साधन चल्न निकै असहज हुन्छ । सडकको अवस्था दयनीय भएको इलाम नगरपालिका १ का वडा सदस्य मोहन गुरुङको भनाइ छ ।
जताततै खाल्डाखुल्डी भएको र वर्षाका कारण क्षतिग्रस्त बनेकाले सवारी साधन जोखिमपूर्ण रुपमा सञ्चालन भइरहेको स्थानीइय सुरेन राईले बताए । करिब १२ किलोमिटर उक्त सडकको अधिकांश भागको कालोपत्रे उक्किएको इलाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री बिष्ट बताउँछन् ।
सङ्घीय सरकारको सडक डिभिजनबाट कालोपत्रे भएको सडक नियमित मर्मत नहुँदा जीर्ण बनेको छ । करिब १२ करोड रुपैयाँ खर्चिएर गरिएको उक्त कालोपत्रे सडक हुँदै पश्चिम इलामको व्यापारिक केन्द्र मङ्गलबारे जाने गरिन्छ । यात्रुहरू आउजाउ गर्न साथै कृषि उपज र अन्य उपभोग्य सामग्री ढुवानी गर्न प्रयोग हुने मुख्य सडक यही हो ।
सडकको आधा खण्ड इलाम नगरपालिका र आधा देउमाई नगरपालिकामा पर्छ । सडक मर्मतका लागि बजेट नभएको भन्दै दुवै स्थानीय तह पन्छिने गरेका छन् । गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय इलामबाट स्तरोन्नतिका लागि एक करोडको ठेक्का परे पनि ७२ प्रतिशत जतिमात्र काम भएकाले ठेक्का तोड्ने अवस्था आएको कार्यालयकी इन्जिनियर तथा उक्त सडक खण्ड हेर्ने मनिषा कट्टेलले बताइन् ।
उक्त सडक पूर्ण रुपमा सम्पन्न गर्न १२ करोड रुपैयाँ आवश्यक पर्ने भए पनि यो आर्थिक वर्षमा बजेट विनियोजन हुन नसकेको उनले बताइन् । मर्मतका लागि धनुषाको केएम कन्स्ट्रक्सनले ठेक्का पाएको थियो तर सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट नछुट्याउँदा अन्योल भएको छ ।
संघीय र प्रदेश सरकारले नहेर्ने, स्थानीय तहले जिम्मेवारी नलिने भएपछि सडक अलपत्र परेको वडा सदस्य गुरुङको गुनासो छ । २०१५ सालबाटै मोटर गुड्न थालेको उक्त सडक पूर्ण रुपमा निर्माण सम्पन्न हुँदा पश्चिमी इलामका बासिन्दालाई सहज हुने थियो ।
यसैबीच, सडकको अवस्था दयनीय भएको, सवारी एवं हिँडडुलमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सडक मर्मतका लागि पहल गरिदिन माग गरेका छन् ।
