क्यानाडामा त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको टुंगो लाग्यो
काठमाडौँ । क्यानाडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
पूर्वकप्तान सन्दीप लामिछाने १२ महिनापछि एकदिवसीय टोलीमा फर्किएका छन्। सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए। अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।
टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
प्रतियोगिता भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ। यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानाडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग छ। तेस्रो खेलमा असोज ६ गते क्यानाडा र असोज ८ गते ओमानसँग छ । सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
