कोशीमा डेङ्गु सङ्क्रमण बढ्यो, कुन जिल्लामा कति ?
विराटनगर । कोशी प्रदेशमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । साउनयता प्रदेशभरि गरी १ हजार ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण झापाका दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापास्थित स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमणबाट हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र बिर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेतको मृत्यु भएको हो ।
मोरङमा सङ्क्रमितको सङ्ख्या ५३२ पुगेको छ । झापामा साउनयता १२८ जना सङ्क्रमित पाइएका छन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका अनुसार धनकुटामा ८० जनामा सङ्क्रमण पाइएको छ । यस्तै सुनसरीमा ७०, उदयपुरमा ६९, भोजपुरमा ६८ र सङ्खुवासभामा ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा ५, खोटाङमा ४ र तेह्रथुममा दुईजनामा सङ्क्रमण पाइएको छ । ताप्लेजुङमा हालसम्म डेँगुबाट भेटिएका छैनन् ।
