यस्ता थिए बीपी

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज जन्म दिन । नेपाली काङ्ग्रेसले बीपीको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए । जन्म दिनको सन्दर्भमा बीपीबारे यो रोचक सामग्री–


यो तस्बिर बीपी कोइराला प्रधानमन्त्री हुँदाको बखतको हो । सन् १९५९ को अक्टोबर महिनाको अन्तिम दिनको हुनुपर्छ । २००७ सालको क्रान्तिका नायक, राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदासम्मको ८ वर्षको अवधिसम्म जनमानसमा व्यापक लोकप्रियताका बाबजुद प्रधानमन्त्री हुन नपाएका र मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभूतपूर्व बहुमत हासिल गरी प्रधानमन्त्री बनेका बीपी कोइरालाप्रति त्यतिबेला अन्तर्राष्ट्रिय स्तरबाट समेत निकै चासो थियो ।

काठमाडौँबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएटेड प्रेस (एपी) ले यो तस्बिरसहित संवाददाता हेनरी एस. ब्राडशेरले तयार गरेको समाचार प्रकाशन गरेको थियो । १ नोभेम्बर १९५९ का दिन उक्त एजेन्सी मार्फत संसारभरका अखबारहरूले पहिलोपटक यही तस्बिरसहित समाचार प्रकाशित गरेका थिए ।

ती मध्ये केहीका समाचार शीर्षक यस्ता थिए–

‘From Feudal Monarchy to Modern Democracy’

‘Premier of Nepal Tries to Transformed Feudal Monarchy’

‘One Man Handles Nepal attempt to Modern States’.

उक्त तस्बिर प्रधानमन्त्रीको निवासस्थित उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो । ४४ वर्षीय ऊर्जावान् युवा प्रधानमन्त्री कोइराला विस्तारामा नै बसेर चिया नास्ता लिँदै मन्त्रिपरिषद्का केही कागजातहरू राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ ।

घाँटीमा सेतै मफलर, जिउमा सेतो कमिज र सेतै सुरुवालसहित अति साधारण किसिमको नेपाली मौलिक पहिरन लगाएका प्रधानमन्त्री कोइरालाको तस्बिर हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थी जस्तो देखिन्छ भन्ने समाचार टिप्पणी थियो ।

प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा कोइराला सादगी जीवनका पर्याय थिए । प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५०० रुपैयाँबाट घटाएर १५०० रुपैयाँ बनाएका थिए ।

माथिको उनको तस्बिरमा त्यतिबेलाका मुलुकका कार्यकारी प्रधानमन्त्रीको अत्यन्तै सादगी जीवनशैली देखिन्छ । उनको सरकारले आर्थिक मितव्ययिता व्यवहारमा नै अपनाएको थियो । राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानबिन गर्न मुद्दा दायर नगरेकाले त्यो फगत राजनीतिक आरोप मात्र थियो भन्ने देखिन्छ ।

आजको दिनमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो । यहाँ अचेल सर्वत्र असाध्यै विलासिता र तडकभडक देखिन्छ । आर्थिक मितव्ययिता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोषबाट नै हराइसकेको छ ।

समाचारमा उनको राजनीतिक जीवन यात्राको समेत चर्चा थियो । त्यसबाहेक समाचारको सार यस्तो थियो–

‘नेपाललाई सामन्ती राजतन्त्रदेखि आधुनिक प्रजातन्त्रतर्फ बदल्नका लागि एक व्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ । उनी हुन् प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री बीपी कोइराला ।’

कोइराला भन्छन् ‘विदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदैछ किनकी हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ । जसरी आर्थिक प्रगति हुनेछ त्योसँग तिमीहरुले सोच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ । हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौँ ।’

‘राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आम निर्वाचन मार्फत सुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई अगाडि बढाउनका लागि प्रधानमन्त्री कोइरालाले काम गरिरहेका छन् । संसदमा कोइरालाको बलियो उपस्थिति छ र उनको दलमात्र मुलुकभर संगठन विस्तार भएको राष्ट्रिय संगठन हो । यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्नस्तरको जीवनस्तरलाई माथि उठाउने प्रयास गरेका छन् । चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफुलाई उभ्याउने कोसिस गरिरहेको छ ।’

‘एकजना विदेशी पर्यवेक्षकका अनुसार अहिलेसम्म त सबै प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ । पछिल्लो निर्वाचन मार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिलेसम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो ।’

ती विदेशी पर्यवेक्षकले प्रश्न तेर्स्याए बमोजिम निर्वाचन मार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजाले धेरै पर सम्म स्वीकार गर्न सकेनन् । १८ महिनामा नै सेनाको मद्दतमा संसद र सरकार भङ्ग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए ।

संसदका सदस्य, सभामुखसहित नेपालमा रहेका मन्त्रिपरिषद्का सबै सदस्यलाई राजाले जेलमा कोचे । आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे । केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रिमण्डलमा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे ।

उनी संवैधानिक राजा भएर बस्न चाहेनन् । कार्यकारी प्रमुख आफैँ भएर शासन गर्ने महत्वाकांक्षा उनमा बढ्दै गयो । सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै अस्तित्व खतरामा पर्ने त होइन भन्ने अत्यन्तै छोटो सोच राखे र मुलुकलाई अर्कै बाटोमा अगाडि बढाए ।

-अमेरिकी अखबार ‘रिडिङ इगल’ १ नोभेम्बर १९५९) मा प्रकाशित समाचार र अन्य सन्दर्भसहित सन्तोष खडेरीको विश्लेषण ।  तस्बिर सौजन्यः मनिषा कोइराला


प्रतिक्रिया

One thought on “यस्ता थिए बीपी

  1. हो साँच्चै नै, आजको दिनमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो । यहाँ अचेल सर्वत्र असाध्यै विलासिता र तडकभडक देखिन्छ । आर्थिक मितव्ययिता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोषबाट नै हराइसकेको छ ।

    कतिपय मतदाताहरु पनि तडक भडकवाला अनि सुकिला मुकिला कै पछि लागेर हिंडेको देखिन्छ । विवेक पुर्याउन नसकि पिछेलग्गु भएकै भरमा गलत मान्छेलाई सदासर्वदा चुनि राख्दा देशमा कुनै परिवर्तन आउनेवाला छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *