हलिउडको ‘वाक अफ फेम’ मा समेटिए नेपाली रङ्गमञ्चका अगुवा सुनील पोखरेल*
ध्यानाकर्षणः
यो समाचारमा उल्लेखित प्रसंग हलिउडको ‘वाक अफ फेम’ मा सुनील पोखरेलको नाम समेटिएको भन्ने कुराको जानकारी कसैले ‘फेक’ रुपमा फोटो सहित दिएको कुरा आएको छ । चिनेजानेकैबाट विश्वसनीय पाराले आएको भए पनि पछि बुझ्दा त्यो ‘फेक’ रहेछ भन्ने थाहा भएको छ । समाचारका मुख्य पात्र सुनील पोखरेलले यो अविश्वसनीय भएको प्रतिक्रिया दिएका छन् । त्यसैले हामी यो सामग्रीमा भएको ‘वाक अफ फेम’ प्रसंगप्रति क्षमाप्रार्थी छौं । त्यसबाहेक यहाँ उल्लेख गरिएका सबै प्रसंग सही हुन् । –सं.
—
काठमाडौँ । नेपाली रङ्गमञ्चका अगुवा सुनील पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’ बाट सम्मानित भएका छन् । उनको नाम अमेरिकाको लस एन्जलसस्थित पर्यटकीय थलोमा बिच्छाइएको छ ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा अभिनेत्री निशा शर्माका अनुसार ‘वाक अफ फेम’ मा समावेश हुने पोखरेल पहिलो नेपाली कलाकार बनेका छन् । निशा सुनीलकी श्रीमती हुन् ।
फिल्म, संगीत, नाटक, अभिनेता, निर्माता, निर्देशक, साङ्गीतिक र नाट्य समूह, काल्पनिक पात्रहरूको सम्मानका लागि ‘वाक अफ फेम’ मा नाम राखिने गरेको छ । हलिउड चेम्बर अफ कमर्सको स्वामित्व रहने यो थलो कलाकारका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ ।
२.१ किलोमिटर लामो ‘वाक अफ फेम’ हेर्न हरेक वर्ष १० मिलियन भन्दा बढी पर्यटक त्यस क्षेत्रमा पुग्ने गर्छन् । सन् २०२३ सम्म २ हजार ७५२ स्टार यसमा समावेश भएका छन् ।
उक्त सम्मान पाएको खबर आउँदा आफूलाई अझैसम्म विश्वास नलागेको प्रतिक्रिया सुनीलले दिएका छन् । ‘एकजना साथीले फोटोहरू पठाएर अमेरिकाबाट आज बिहान खबर गरे’ उनले सरलपत्रिकासँग कुरा गर्दै भने, ‘मलाई भने त्यसरी स्थान दिनुपर्ने खालको काम गर्न सकेको छैन भन्ने लाग्छ, त्यसैले अझैसम्म विश्वास लागेको छैन ।’
सुनील आरोहण गुरुकुलका संस्थापक हुन् । आरोहणले तीन दशकभन्दा बढी समयदेखि स्तरीय नाटकहरु प्रस्तुत गर्दै आएको छ । देशका विभिन्न स्थानमा नाट्य कार्यशालाहरू पनि गर्दै आएको छ ।
केही वर्ष अघिदेखि आरोहणको शाखा विराटनगरमा सक्रिय छ । विराटनगरमा रङ्गमञ्च बनाएर नाटक महोत्सव, प्रशिक्षण र साहित्य एवं कलाका अन्य विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएको छ ।
नेपाली रंगमञ्चमा सुपरिचित नाम हो सुनील पोखरेल । विराटनगरका स्कुल पढ्दैदेखि नाटकमा काम गर्न थालेका पोखरेल सन् १९८४ मा नयाँदिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा नाटक सम्बन्धी अध्ययनका लागि गएका थिए ।
१९८७ मा त्यहाँको पढाइ सकेर फर्किए। दिल्ली जानु अघि नै स्थापना गरिएको आरोहण गुरुकूल नाट्य संस्था मार्फत् नाटकहरु प्रदर्शन गर्न थाले । आरोहणमा सरोज खनाल, बद्री अधिकारी, सूर्यमाला खनाल, निशा शर्मालगायत कलाकारहरु आवद्ध थिए ।
उनले नेपाली, भारतीय र अरु विदेशी नाटकहरुमा अभिनय र निर्देशन गरेका छन् । लगभग शिथिल अवस्थामा रहेको नेपाली नाट्य परम्परालाई ब्युँझाएर निरन्तर नाटक गर्ने, यससम्बन्धी अन्तर्क्रियाहरु सञ्चालन गर्ने अनि नाट्य कार्यशालाहरु आयोजना गर्ने काम निरन्तर गरे ।
न्यायप्रेमी, पुतलीको घर, अग्निको कथा, चतुरेको दाउपेच, रसोमन, मिडनाइट समर सपना, घनचक्कर, याज्ञसेनी, जयमाया आफूमात्र लेखापानी आइपुगी, पुतलीको घर, जात सोध्नू जोगीको, इदमित्थम्, वनफूल, जेठो छोरा जस्ता चर्चित नाटक, टेलिफिल्म, सिरियल र चलचित्रहरुमा उनको योगदान छ । देशका विभिन्न जिल्लामा रहेका नाट्यकर्मीहरुलाई कार्यशालामा सहभागी गराएर नाट्यकर्मीहरुको संगठित सञ्जाल बनाउनमा पनि पोखरेलको योगदान छ ।

सुनिल दाइलाई हार्दिक बधाइ ।
नेपाली को लागि ठुलो गौरव र प्रतिष्ठाको कुरा! हार्दिक बधाई तथा शुभकामना, सुनिल पोखरेल ज्यु लाई।👏👍🎉🎊💐💖🙏