विराटनगरका व्यापारीको आग्रह- मेला सडकमा नगर, व्यापार चौपट हुन्छ
विराटनगर । विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिए ।
‘यसपालि पनि यहाँ ८ दिन मेला लाग्दैछ रे । हाम्रो विरोध छ । अन्य खाली ठाउँमा लगाउँदा हुन्छ तर यहाँ लगाउने विषयमा हाम्रो विरोध छ,’ शर्माले भने, ‘व्यापार नभएर हामी त्यसै तनावमा छौं । अझै एकहप्तासम्म पूरै सडक ढाकेर मेला लगाउँदा सटर बन्द गरेर हामी घर बस्दा हुन्छ ।’
शर्माले शनिबार एक दिन फुटपाथमा सामान बिक्री व्यापारीलाई नदिने निकायले रोडै ढाकेर मेला र महोत्सव लगाउन दिन नहुनेमा जोड दिए । गत वर्ष नै अबदेखि हिमालय रोडमा मेला लगाउन नदिने सहमति भएको स्मरण गर्दै उनले भने, ‘यसपटक फेरि लगाउने हल्ला सुन्दैछु । यहाँ मेला लगाउने विषयमा हाम्रो गम्भीर आपत्ति र विरोध छ । गत वर्ष पनि मासु र विभिन्न परिकारको गन्धले पसलमा बस्नै समस्या भएको थियो ।’
शर्माले जनताको समस्या सुन्ने कोही नभएको पीडा पोखे । ‘यो रोडमा अहिलेको संरचना बनेपछि हामी कति समस्यामा छौं भन्ने कुरा त हामीलाई मात्रै थाहा छ,’ उनले थपे, ‘अझ सडक बन्द गरेर महोत्सव गर्दा हाम्रो हालत के होला । म त भन्छु यो सडक श्रापित सडक हो ।’
व्यापारी शर्मिला मैनालीले अन्य खाली ठाउँमा मेला लगाउन सुझाव दिइन् । ‘बाटो भनेको हिँड्नका लागि हो । अहिले त एकतर्फबाट मात्रै सवारी चलाउन पाइन्छ । अहिलेको संरचना बनेपछि व्यापारमा ६० प्रतिशत गिरावट आएको छ,’ उनले भनिन्, ‘हाम्रो आवाजलाई सम्बन्धित निकायले सुन्छ भन्ने मैले विश्वास लिएको छु ।’
अर्का व्यापारी सुदर्शन बरालले हिमालय रोडमा मेला लाग्दैछ भनेर सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको सुनाए । उनले कसैलाई पनि समस्या नहुने स्थानमा मेला गर्न आग्रह गरे । उनले हिमालय रोडमा मेला लगाए आफूहरू आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।
‘त्यसै पनि व्यापार छैन । त्यसमाथि सडक नै ढाकेर मेला लगाइयो भने त्यसले हाम्रो व्यापार पूर्ण रुपमा बन्द हुन्छ,’ बरालले थपे, ‘खाना महोत्सव भएकाले पकाएका खानाको गन्धले पसलमा बस्नै नसक्ने अवस्था आउँछ ।’
सो ठाउँमा मञ्जिना मुभिज क्रिएसनले आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव आयोजना गर्दैछ । क्रिएसनले केही दिनअघि पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको थियो । बरालले आयोजकलाई अन्य ठाउँमा लगेर महोत्सव गर्न आग्रह गरे ।
अर्का व्यवसायी खेमराज ढुंगानाले पीडामा रहेका व्यापारीलाई महोत्सवले झनै पीडा दिने प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रै चिनेजानेका भाइभतिजहरूले मेला गर्दैछन् तर यो मेला यहाँ नभएर कसैलाई डिस्टर्भ नहुने स्थानमा आयोजना गर्दा राम्रो हुने थियो । पक्कै पनि हाम्रो समस्या आयोजक र सम्बन्धित निकायले सुन्नेछ ।’
