विश्वभर गिद्ध गणना गरिँदै, कोशी टप्पु क्षेत्रमा पनि

सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षसहित देशभर गिद्ध गणना गरिँदैछ । १६औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा शनिबार गिद्ध गणना गरिने भएको हो । विभिन्न संरक्षणवादी संस्थाले लोपोन्मुख गिद्ध संरक्षणबारे कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् ।

कोशी टप्पु क्षेत्रमा ‘कोशी टप्पु लर्निङ ग्राउन्ड’ नामको संस्थाले संरक्षणसम्बन्धी चेतनामूलक काम गर्दै आएको छ । उक्त संस्थामा कार्यरत संरक्षणकर्मी अनिश तिम्सिनाका अनुसार केही समययता संरक्षणसम्बन्धी चेतनामूलक काम गरिँदै आएको छ । यस क्रममा विद्यालयहरुमा पुगेर विद्यार्थीहरूलाई संरक्षणसम्बन्धी चेतनामूलक जानकारी दिने, चित्रकला प्रदर्शनी गर्ने, हाजिरी जवाफ प्रतियोगिता गर्ने जस्ता कार्यक्रम भइरहेको उनले बताए ।

यी काममा कोशी पंक्षी समाज, नेपाल पंक्षी संरक्षण सङ्घलगायत संस्थाले सहकार्य र सहयोग गर्दै आएका छन् । आगामी जनवरीमा हरेक वर्षजस्तै जलपक्षी गणना पनि गरिने भएको छ । सुनसरीको बर्जुताल क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र र मोरङको उर्लाबारी क्षेत्रमा जलपक्षी गणना गरिने संरक्षणकर्मी तिम्सिनाले बताए ।

गिद्ध पछिल्ला दशकमा संसारमा सबैभन्दा तीव्र रुपमा घट्दै लोप हुने अवस्थामा पुगेको पक्षी मानिन्छ । गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आम सरोकारको विषय बनाउने उद्देश्यले भदौ २२ गते शनिबार सचेतनामूलक कार्यक्रमहरू गर्न लागिएको हो ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइने गरेको गिद्ध संरक्षणको क्षेत्रमा काम गर्दै आएका कृष्ण भुसालले बताए ।

उनका अनुसार यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि मनाइँदै आएको छ । राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा पनि सचेतनामूलक र्याली, क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरू, गिद्धका तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै । यसै अवसरमा देशव्यापी गिद्ध गणना पनि गरिन लागेको हो ।

नेपालमा ६ स्थानीय र चार घुमन्ते प्रजातिका गिद्ध रहेको जनाइएको छ । नेपालमा लोपोन्मुख अवस्थामा रहेका गिद्ध सानो खैरो, डंगर र सुन गिद्ध छन् । केही समय अघिको तथ्याङ्कअनुसार नेपालभर सानो खैरो गिद्धको संख्या ६० मात्रै थियो । सानो खैरो गिद्ध विश्वबाट नै लोपोन्मुख अवस्थामा पुगेको गिद्ध हो ।

सुनसरीको बराहक्षेत्र–८ सालबन्दीस्थित रामधुनी सामुदायिक वनमा गिद्धका लागि जटायु रेस्टुरेन्ट बनाइएको छ । गिद्धलाई नियमित चारो दिइने यहाँ गिद्धहरु आउने जाने गर्छन् ।

गिद्ध गणनामा सहभागिताको लागि अनुरोध गर्दै सुरक्षाकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । उनीहरूले बुँदागत रुपमा दिएका सुझाव यस्ता छन्–

–आफ्नो पायक पर्ने ठाउँमा गिद्धको गणना गरी सङ्ख्या अभिलेख (अद्यावधिक) तथा संरक्षण सचेतना प्रवाह गर्नु हुन अनुरोध छ ।

कसरी गन्ने गिद्ध ?

–गिद्ध दिवसको दिन (सम्भव नभए अघिल्लो वा पछिल्लो दिनमा पनि) गिद्ध देख्न सकिने सम्भावित क्षेत्रमा जाने ।

–एकै ठाउँबाट गणना गर्ने हो भने कम्तिमा आधा घण्टा उक्त क्षेत्रमा बसी गिद्ध गन्ने ।

–यदि हिँड्दै गणना गर्ने हो भने १ घण्टा प्रतिकिलोमिटर भन्दा कम चालमा गिद्ध गन्दै अघि बढ्ने ।

–बिहान (७ बजेदेखि ११ बजे) अथवा अपरान्ह (३ बजे देखि ६ बजे) को समयलाई छनोट गर्ने ।

–गिद्धका प्रजाति छुट्याइ तिनको संख्याका साथै त्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदि) अभिलेख राख्ने ।

–उक्त ठाउँमा आफूले देखेका गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने ।

–गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गर्न सकिन्छ र सम्भव भएसम्म आफुले पनि फोटो तथा भिडियो खिच्ने ।

–गिद्ध गणनामा धेरैभन्दा धेरै जनालाई सहभागी गराउने ।

संरक्षणपछि सङ्ख्या बढ्यो

सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको तथ्याङ्क थियो । सन् २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा बढीले घटेको पाइएको थियो । कुनै कुनै गिद्धको प्रजाति अति सङ्कटापन्न अवस्थामा पुगेका थिए ।

त्यसपछि सरकारले गिद्ध संरक्षण गर्न विभिन्न उपाय अपनाउँदै कार्यक्रमहरू सञ्चालन गर्न थालेको पाइन्छ । संरक्षण कार्यक्रमको प्रभावले नेपालमा सन् २०१६ मा २० हजारको सङ्ख्यामा पुगेको तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *