‘रोकिनु भनेको सुनेन ? कि पेस्तोलै निकाल्नुपर्ने हो ?’

सङ्कटकालको समय । हामीले प्रकाशन गरिरहेको ‘सूत्रधारश्री’ साप्ताहिक पत्रिकाको डेस्कको काम सकिएको थियो । डिजाइन सकेपछि ‘ट्रेसिङ’ मा पत्रिकाको खाका निकाल्नुपर्ने थियो । डिजाइन सकिएको चिज ‘फ्लपी डिस्क’ मा सारेर चोक बजारस्थित कार्यालयबाट नारायणस्थानतिर जाँदै थियौं । त्यसबेला अरू प्रविधि हामीसम्म आइपुगेको थिएन ।

राति ९ बजे आसपास हुँदो हो । टोलीमा बेनुप भट्टराई, नुतन रञ्जितकार, म र अरू कोही साथी पनि थिए सायद । बीच बाटोतिर पुग्दा कसैले हामीलाई पछ्याएजस्तो लाग्यो । कुनै साथीले यसो पछाडि हेरेपछि भन्यो- ‘विशेष प्रहरीको मान्छे हामीलाई पछ्याउँदैछ ।’ हामी अलि सतर्क त भयौं तर पाइला गन्तव्यतिरभन्दा अन्यत्र मोडेनौं

अलिअघि पुगेपछि पख्नोस्, पख्नोस् भन्दै ती पछ्याउने व्यक्तिले हामीलाई रोक्न खोजे । नटेरी अघि बढिरह्यौँ । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत रहेर काम गर्ने उनले थप कडा स्वरमा भने, ‘रोकिनु भनेको सुनेन ? कि पेस्तोल नै निकाल्नुपर्ने हो ?’

नरोकिई धर भएन । रोकियौँ । अनि नजिकै आएर उनले भने- ‘कताको यात्रा हो यति राति ?’ उनले हामीलाई राम्ररी चिन्थे । हामी पनि चिन्थ्यौँ । हामीले पत्रिकाको कामले टार्क कम्प्युटर सेन्टर जाँदै गरेको भन्यौँ । त्यहाँ पुगेर पत्रिका छाप्नुअघि चाहिने ‘ट्रेसिङ पेपर प्रिन्ट’ निकाल्नु थियो । प्रिन्ट निकालेपछि भोलिपल्ट बिहानै झापाको बिर्तामोड पुगेर प्रेसमा पत्रिका छापेर ल्याउनु हाम्रो निरन्तरता थियो ।

हाम्रो जबाफ सुनेपछि उनले भने- ‘जे पायो त्यही नछाप्नुहोला, माओवादी आतङ्ककारीलाई उक्साउने खाले कुराहरू पत्रिकामा आयो भने राम्रो हुँदैन । अलि विचार गर्नुहोला ।’

‘त्यस्तो केही पनि छैन । जे भएको हो, त्यही कुरालाई मात्र तथ्यका आधारमा समाचार बनाउने हो,’ हामीले भन्यौं । नजिकिएर कुरा गरिरहेका बेला थाहा पायौं- उनले मदिरा पिएका थिए । त्यसैको सुरमा सायद अलि कडा कुरा गर्दै थिए । पेस्तोलको कुराले अघि नै थर्काइसकेकाले हामीले धेरै लामो कुरा गरिरहन उचित ठानेनौं । बिदा हुन खोज्यौं । उनले भने- ‘अस्ति-अस्तितिरको तपाइँहरूको पत्रिकामा माओवादी आतङ्ककारीको समाचार खोजीखोजी हालेको देखियो, यसलाई माथिबाट पनि राम्रो मानेका छैनन् ।’

यति भनेर उनी फर्किएर आफ्नो बाटो लागे । हामी आफ्नै ।

भोलिपल्ट हाम्रो टिमका अरू पनि भेला भएर रातिको घटनाबारे छलफल भयो । प्रहरी, प्रशासनका हाकिमसँग भेटेर कुरा गर्ने निष्कर्ष निकालियो । हामीले तत्कालीन प्रहरी र प्रशासन प्रमुखसँग भेटेर राति मादक पदार्थ पिएको सुरमा हप्कीदप्की गरेको अनि पेस्तोलको कुरा गर्दै थर्काएको गुनासो गर्‍यौँ । उनीहरूले सम्बन्धित कर्मचारीलाई सम्झाउने प्रतिबद्धता जनाए । तर, उनीहरूले पनि भन्न छाडेनन्, ‘अप्ठ्यारो बेला छ, आतंककारीहरू उत्साहित हुनेगरी समाचार दिने नगरौं ।’ अघिल्लो राति हामीलाई थर्काउने व्यक्ति त्यसको भोलिपल्ट आएर माफी मागेका थिए ।

माओवादी गतिविधि बढ्दैथियो । हामीले गाउँ-गाउँ पुगेर उनीहरूका गतिविधि समेट्ने गरेका थियौँ । उनीहरूले सर्वसाधारणमाथि अनाहकमा गरेका अन्यायपूणर् घटनालाई पनि समाचार बनाउने गरेका थियौँ । पत्रकारिताको धर्मअनुसार सबै सन्तुलित रूपमा प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता छँदैथियो ।

तर, यति हुँदाहुँदै पनि हामी स्थानीय प्रशासन, प्रहरी, विशेष प्रहरी भनिने माथिका जस्ता कर्मचारीको तारो बन्ने गरेका थियौँ । कहिलेकाहीँ माओवादीको पनि । त्यसबेला उत्तरी इलामतिर गोरु माग्दा नदिएपछि एक वृद्धको माओवादीले हत्या गरेका थिए । त्यतिखेर जंगलमा बसेर लडाकुहरू गोरुलगायत चौपायाको मासु खान्थे भन्ने चर्चा व्यापक थियो ।

त्यो घटनाको समाचार छाप्यौं । शीर्षक थियो- ‘हलगोरु नदिँदा माओवादीद्वारा वृद्धको हत्या’ । समाचार सही थियो । सबै विवरण तथ्यमा आधारित थिए । तर, ‘यसले जनसमुदायमा नकारात्मक असर पर्ने’ भन्दै माओवादी हामीसँग रिसाए । कतिपयले त ‘भौतिक सफाया’ गर्ने सूचीमा हामीलाई राखेको तर्साउनेखाले सूचना पनि दिए । त्यसबेलाका यस्ता अनेक घटना छन् । कतिपय सानातिना घटना त सम्झनाबाट हराइ पनि सके ।

त्यतिबेला हाम्रो टिममा सुरुमा धर्म गौतम, धीरेन चेम्जोङ, सोमनाथ सुसेली, प्रभाकर प्रधान, विजयशेखर भट्टराई, नूतन रञ्जितकार, विमल प्रधान, मोहनमान श्रेष्ठ र मलगायत थियौँ । ‘सूत्रधारश्री’ को सम्पादकको जिम्मेवारीमा थिएँ । असाध्यै मेहनतका साथ हामीले पत्रिका निकाल्ने गरेका थियौँ । अभावका बीच गुणस्तरलाई कहिल्यै खस्कन नदिने हाम्रो अठोट थियो ।

यही अठोटसँग एकाकार हुनसक्ने टिम पछि विस्तार भयो । त्यसमा बेनुप भट्टराई, उमेश गुरुङ, आशिष राई, नेमिष गौतम, डिल्ली चापागाईंलगायत जोडिएका थिए । एउटा दुर्घटनामा परेर आशिषले हामीलाई छाडेर गए । विमल पनि हामीबीच छैनन् । कम्प्युटरका सबै काम गर्ने ध्रुव खाकी थिए । पत्रिका वितरणलगायत काममा सघाउने भाइ चित्रनारायण ताम्राकार थिए ।

असाध्यै थोरै विज्ञापन हुन्थ्यो । पत्रिका धान्न हम्मेहम्मे पथ्र्यो । त्यसैले हामी केही अर्थ आर्जन हुनेखालका काम पनि गथ्र्यौं । त्यसबाट आएको पैसा पत्रिकामै खर्च हुन्थ्यो । हामीले सन्देशमूलक सडक नाटक गर्ने, केही सानातिना अनुसन्धानमूलक काम गर्नेजस्ता गतिविधि गरेर विभिन्न निकायबाट सहयोग पाउँथ्यौं संस्थागत रूपमा । काम सबैले गरेपनि पारिश्रमिक पाउने कम्प्युटर, वितरणजस्ता काम गर्नेहरू थिए । धेरै रकम प्रेसमा छपाइका लागि खर्च हुन्थ्यो । त्यसका लागि हाम्रो टिमका हामी कतिपय साथीहरूको व्यक्तिगत खर्च पनि हुन्थ्यो ।

पछि टिमका मसहित कतिपय साथीहरू कामका सिलसिलामा इलामबाहिर जानुपर्ने भयो । योसहित आर्थिक अभावसमेतका कारण पत्रिकाले त्यसपछि धेरै निरन्तरता पाउन सकेन । पत्रिका बन्द भएपनि त्यो टिममा रहेर धेरै साथीहरूले आफूलाई दक्ष र परिमार्जित गर्ने मौका पाएका थिए । धेरैजसो काठमाडौंबाट प्रकाशित हुने सञ्चारमाध्यममा काम गर्न थालिसकेका थिए । जो जता पुगेपनि सबैजसोको एउटा ऊर्जाशील ‘प्लेटफर्म’ का रूपमा सूत्रधारश्री थियो । अझै पनि भेट हुँदा कुराकानीमा हामीबीच छुट्दै नछुट्ने पाटो सूत्रधारश्रीकालीन समयको हुने गरेको छ ।

पत्रिका निकाल्दाको समय प्रायःजसो महिनामा केही दिन गाउँतिरको भ्रमण हुन्थ्यो टिमको । कहिले माओवादीले पूर्वको शान्तिपुरमा सुराकी भन्दै ‘भौतिक सफाया’ गरेको घटनाका लागि अनि कहिले पश्चिमको जितपुर क्षेत्रमा तालिम गरिरहेको रिपोर्टिङ गर्न ।

एकपटक जितपुरको नवमीभन्दा अलि तल ठूलै संख्यामा माओवादीको टोली बसेको खबर आयो । सल्लाह गरेर हाम्रो टोली त्यतातिर लाग्यो । एकखाले डर त छँदैथियो, प्रहरी-प्रशासनको । तैपनि हामी गयौं ।

बन्दुक बोकेका, छापामारको पोसाक लगाएका थुप्रै बसेका थिए । त्यस टोलीका कमान्डर खाइलाग्दा देखिने ‘मंगल’ उपनामका कोही थिए । उनी र अरूसँग पनि हामीले उनीहरूको विगत, ‘जनयुद्ध’मा लाग्नुका कारण जस्ता अनेक विषयमा कुरा गर्‍यौँ । पछि त्यो विषयमा समाचार प्रकाशन भयो ।

स्थलगत रूपमा गरिएको विस्तृत रिपोर्टिङ,  हतियारधारी माओवादी लडाकुका तस्बिर अनि उनीहरूसँगको अन्तरंग कुराकानी प्रकाशन भएपछि प्रहरी-प्रशासनको चासो झन् बढ्यो । हामीलाई उनीहरूबारे सूचना दिनसमेत भनियो । हाम्रो काम त्यो थिएन । दिएनौं । माओवादीले गर्ने गरेका ‘कारबाही’का सूचना सम्पर्क सूत्रबाट हामीकहाँ चाँडै आइपुग्थे । समाचारका रूपमा प्रस्तुत गर्थ्यौं । यही कारणले पनि हामीमाथि ‘माओवादीलाई सघाएको’ भन्ने आरोपसमेत लागेको थियो ।

जितपुरमा भेटिएका ती कमान्डरको अलि समयपछि अन्यत्रै सरुवा भएको भन्ने खबर आयो । त्यसको केही महिनापछि उनी र अरू केही छापामार मारिएको खबर केही माओवादी कार्यकर्ता (लडाकु) ले हामीलाई दिएका थिए ।

त्यतिबेलासम्म इलाममा पत्रकारिता पहिलेभन्दा अलि सहज भइसकेको थियो प्रविधिका हिसाबले । नत्र पहिले समाचार संकलन गर्‍यो, भेटेसम्म ‘ए-फोर’ पानामा अक्षर खिपेर समाचार लेख्यो । अनि फ्याक्स गर्‍यो गर्ने चलन थियो । तत्काल पठाउनुपर्ने समाचार लेखिसकेर फ्याक्स गर्न जाँदा त्यसबेला टेलिफोन र फ्याक्स सेन्टर सञ्चालन गरेका मनोज ताम्राकार भन्थे, ‘भर्खर बिजुली गयो, छाडेर जानुस् आएपछि पठाइदिन्छु ।’

निरूपाय भएर फर्किनुपथ्र्यो । वैकल्पिक ऊर्जाको उपलब्धता थिएन । कहिलेकाहीं समाचार पठाउँदापठाउँदै फ्याक्स मेसिनमा पाना आधा छिरिसकेपछि बिजुली जान्थ्यो । काम बनेन तर फ्याक्स मेसिनले निकाल्ने बिलमा पैसा चढिसकेको हुन्थ्यो । यस्ता हैरानी कति-कति ।

अलि लामा खाले समाचार, फिचर भने लाइनवाला कापीमा लेखेर आफूले काम गर्ने संस्थाको काठमाडौंस्थित मुख्यालयमा कुरियरमार्फत् पठाउनुपर्थ्यो । इलाममा फोटो धुलाउने ल्याब नआउँदासम्म क्यामराले खिचेर, रिल निकालेर प्रिन्ट गर्न बिर्तामोड पठाउनुपर्थ्यो । अनि, आएपछि मात्र फोटोसहितका समाचार पठाउन पाइन्थ्यो । झापामा पनि ल्याब नआउँदाका बेला अग्रजहरूले विराटनगरबाट फोटो धुलाएर ल्याउने गर्थे । करिब तीन दशकअघि ती सुरुआती दिनका यस्ता कुरा प्रविधिको सहजता भएको यो बेला कथाजस्तै लाग्छ ।

ऊर्जामय ती दिनमा मिलेर पत्रकारिता गर्दाका अनेक अनुभूति छन् । कतिपय रमाइला अनि कतिपय कष्टपूर्ण पनि । एक दिन माइखोलामा पिकनिकजस्तै गरी नयाँवर्ष मनाउने सल्लाह भएको थियो । फिक्कलतिरबाट प्रभाकर प्रधानसहितको टोली आउने अनि सदरमुकामबाट यताको टिम गएर माइखोलामा भेटेर रमाइलो गर्ने निधो भएको थियो । २०५९ वैशाख १ गतेलाई स्वागत गर्ने यस्तो योजना थियो ।

अघिल्लै दिनदेखि अलि बिसञ्चो भएकाले म चाहिँ जान सकिनँ । साथीहरूले धेरै कर गरिरहेका थिए । जान मन हुँदाहुँदै पनि स्वास्थ्यले साथ दिएन । घरमै सुतिरहेको थिएँ । मन भने माइखोलातिरै थियो । नयाँवर्षको पहिलो दिन, साथीहरू उता, आफू यता । मन यसै उदास भइरहेका बेला मध्याह्नतिर विजयशेखरले निकै अतालिँदै फोन गरे, ‘खत्तम भयो नि दाइ, माइखोलामा डुबेर आशिष राई बिते ।’

(नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रकाशन गरेको पुस्तकबाट)


प्रतिक्रिया

One thought on “‘रोकिनु भनेको सुनेन ? कि पेस्तोलै निकाल्नुपर्ने हो ?’

  1. गज्जब छ ! त्योबेलाको भोगाइ अब त एउटा आख्यानको कथांश जस्तो लाग्न थाल्यो । ऊबेलाको याद आयो । पठनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *