मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार, प्राध्यापक यादवलाई जगदम्बा-श्री

काठमाडौँ । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ ले पाएको छ । मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

मैनालीको यो पाँचौं पुस्तक हो । यसअघि ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।

यसअघि गुठीले पाँचवटा पुस्तकको नाम सार्वजनिक गरेको थियो । जसमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप (कथासङ्ग्रह), जीवन क्षेत्रीको नुन–तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र सङ्ग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए ।

बैठकले यस वर्षको जगदम्बा–श्री सम्मान भाषाशास्त्री प्रा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ । गुठीले मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा–श्री २०४५ सालदेखि प्रदान गर्दै आएको छ ।

नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा–श्री सम्मान अर्पण गरिन्छ । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ । पुरस्कार आउँदो असोजमा वितरण हुनेछ ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा श्री चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा श्री बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनैको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *