देशभरका शिवालयहरूमा भक्तजनको भीड
काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालुहरूको भीड लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य उपस्थिति छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।
यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, खोटाङको हलेसी, झापाको अर्जुनधारालगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।