फैलिँदै डेंगु सङ्क्रमण, सावधानी अपनाउन आग्रह
काठमाडौँ । देशभर डेंगु सङ्क्रमित संख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएका थिए । पछिल्लो साता ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना पुगेको महाशाखाले जनाएको छ ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ भने सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । तनहुँमा सात सय ५४ जनालाई डेंगु सङ्क्रमण भएको महाशाखाले जनाएको छ ।
यस्तै, दोस्रोमा बढी डेंगु सङ्क्रमित भएको जिल्ला काठमाडौँ हो । यहाँ ३ सय ७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कास्कीमा १६६ जनामा, झापामा १३५ जनामा र चितवनमा १३० जनामा डेंगु पुष्टि भएको छ ।
यस्तै, मकवानपुरमा ८४ जना, भोजपुरका ७५ जना, गोरखाका ७२ जना डेंगु भएको छ । काभ्रेपलान्चोक र पाल्पाका ७१/७१ जनामा डेंगु देखिएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ । सङ्क्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरिएको छ ।