दुई दिन भारी वर्षा हुने अनुमान, ३४ जिल्लामा रात्रि बस सञ्चालनमा रोक

विराटनगर । मंगलवार राति र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले विभिन्न प्रदेशका जिल्लाहरूमा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले ती जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेसँगै ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग र गोरखामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।

यस्तै, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।

रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।

यस्तै भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्‌को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने जस्ता निर्णय पनि प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *