बागलुङ र गुल्मीमा पहिरो : १२ जनाको मृत्यु

काठमाडौँ । बागलुङ र गुल्मीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । बागलुङमा ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको हो । गुल्मीमा पहिरोसँगै घर बग्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी बागलुङको बडिगाडमाबालबालिका सहित ८ जनाको ज्यान गएको छ । मङ्गलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । यस्तै, वडा १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय जोगलाल बुढाको घर र गोठ पुरिँदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बूढा र १२ वर्षका अमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घरमा आएकी छिमेकी सन्जु बिककी ६ वर्षीया छोरी र ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको छ ।

यसैगरी, गुल्मीको मुसीकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुईवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार मङ्गलबार बिहान घर माथिबाट लेदो सहितको पहिरोले विष्णु बिकको घर र हुकुम बिकको घर पुरिएको हो ।

मृत्यु हुनेमा ६७ वर्षीय हुकुम बिक, उनका छोरा ४६ वर्षीय गोरे बिक, बहिनी ६६ वर्षीया मसुरी बिक र नातिनी अढाइ वर्षीया रियन्सी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *