क्रिकेट जर्सी विवाद : राष्ट्रिय झन्डा किन झुकाइयो ?

-नरेशकुमार जोशी

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ ।

अगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले एक समारोहबिच खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रुपमा विश्वकपमा नेपाली खेलाडीले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेका थिए । तर, जर्सीकै विषयलाई लिएर नेपाल क्रिकेट संघ क्यान नै दुई कित्तामा विभाजित भएको छ ।

क्यानका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता दुर्गाराज पाठकले नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीमा नेपालको मौलिकता, राष्ट्रियता र पहिचान झल्किने भएकाले छलफल नगरि जर्सी सार्वजनिक गर्नु आफैंमा गलत भएको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सीजस्तो संवेदनशील र अन्तर्राष्ट्रिय पहिचानको विषयमा समेत छलफल नगरि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले एकतर्फी र एकलौटी गरेको आरोप पाठकको छ ।

संस्थागत र सामूहिक गर्नुपर्ने भएतापनि क्यानका केही पदाधिकारीहरुले जानकारी समेत नदिई रातरात जर्सी सार्वजनिक गर्नु दुःखद भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘कुनैपनि खेलाडीले प्रयोग गर्ने जर्सी उक्त देशको मौलिकता, पहिचान र उसको राष्ट्रियताको प्रतिनिधितव गर्ने गर्दछ । अहिले नेपाली खेलाडीले प्रयोग गर्दै आएको जर्सी हामीले क्यानको बोर्ड बैठकबाट निर्णय गरेर छनोट गरेका थियौं । धेरै कम्पनीलाई जर्सी बनाउन भनेका थियौं । त्यहीबाट सबैले छलफल र सहमतिमा छनोट गरेका हौं । तर अहिले क्यानमा आवद्ध भएको एक जिम्मेवार व्यक्ति मैले मात्रै दुई दिन पहिले थाहा पाएँ । जर्सी त तयार भइसकेको रहेछ  । कम्तिमा क्यानमा त छलफल गर्नुपर्छ । एकतर्फी गर्न खोज्नुभएको छ ।’

संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्काले खेलाडी र क्यानका प्रतिनिधिसँग छलफल नै नगरि  सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका ह्न् । अहिलेको नेतृत्वले नेपाली क्रिकेट जगतको नेतृत्व गर्न नसकिरहेको पाठकको आरोप छ ।

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलकुदमन्त्री तथा क्यानका पदाधिकारीकै उपस्थितिमा जर्सी रिभिल गरिएको भन्दै कसैलाई ‘बाइपास’ नगरिएको टिप्पणी गरे ।

विश्वकप तयारीको लागि समय कम हुनु र जर्सीका बारेमा आफूहरुले लामो समयदेखि छलफल गरेका कारण उपयुक्त समयमा जर्सी रिभिल गरिएको भन्दै जर्सीलाई लिएर क्यानका केही सदस्यहरुले अतिरन्जना मच्चाइरहेको बताए ।

अध्यक्ष चन्दले भने,‘पहिले क्यानको बोर्ड बैठकबाट छलफल गरेर हामीले जर्सी छनोट गथ्र्यौं । अहिले विश्वकपको तयारीका लागि समय कम भएका कारणले छलफल नगरि सार्वजनिक गर्नुपर्ने भयो । जर्सीका विषयमा कसैलाई बाइपास गरिएको छैन ।’

जर्सीमा झण्डा झुकेको स्टिकर प्रयोग गरिएकोप्रति क्रिकेट समर्थकले आलोचना गरिरहेका छन् । सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘ झुकाएको भन्नु भएन । यसलाई सकरात्मक रुपमा लिउँ । काँधमा झण्डा राख्दैमा झुकाएको भन्न मिल्दैन ।’

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अंकित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो राखिएको छ ।

यद्यपी, नेपाली राष्ट्रिय टोली अभ्यासका लागि देशबाहिर रहेको अवस्थामा जर्सी सार्वजनिक गर्नुलाई क्रिकेटप्रेमीले खिन्नता व्यक्त गरिरहेका छन् । भने अर्कोतर्फ जर्सीमा प्रयोग गरिएको नेपाली झण्डा र जर्सीको रंगलाई लिएर समेत नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

क्यानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्टमा फेसबुक प्रयोगकर्ताहरुले देशको प्रतिष्ठा र स्वाभिमानसँग जोडिएको भन्दै तुरुन्त जर्सी फेर्न दबाब दिएका छन् ।

जर्सीबारे टिप्पणी गर्दै एकजना प्रयोगकर्ता लेख्छन्, ‘सगरमाथाको माथिल्लो भागमा सेतो कलरमा हुनुपर्ने, गैंडाको कमसेकम क्यानको लोगोमा मुख मात्र देखिन्छ । झण्डा काँधमा भन्दा बाउलामा हुनुपर्ने, भगवान गौतम बुद्धको फोटो अगाडि वा पछाडि मिलाएर राख्नुपर्ने थियो ।’

नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएका छन् । खेलाडीको काँधमा पर्नेगरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको बनाइएको छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको हो ।

अर्का प्रयोगकर्ता लेख्छन्, ‘चन्द्र र सूर्य प्रष्टसँग देखिनुपर्यो । हाम्रो राष्ट्रिय झण्डा झुकेको छैन र झुक्दैन पनि । त्यसैले कि ठुलो बनाउनुस् कि त ठाडो बनाउनुस् । यो चाँही भएन । जर्सी क्यानका दुई जनालाई होइन समग्र नेपालीलाई मनपर्ने हुनुपर्दछ ।’

त्यसैगरि, जर्सीमा प्रयोग गरिएको पहेंलो रङ्ग र हिमालमा प्रयोग गरिएको रातो रङ्गको विषयलाई लिएर पनि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गरिरहेका छन् । (नेपाल न्यूज बैंक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *