लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधि बाग्लुङका तीर्थ पुनले जितेका छन् ।

पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधिसँगै ५ लाख रुपैयाँ, स्वर्ण पदक प्राप्त गरे ।

त्यस्तै, २ घण्टा २१ मिनेट ११ सेकेण्डमा दौड पूरा गरी नेपाली सेनाका खड्कबहादुर खड्का द्वितीय भए । उनले नगद ३ लाखसहित रजत पदक र प्रमाणपत्र पाए ।

जुम्लाका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दूरी पुरा गर्दै तृतीय स्थान प्राप्त गरे । उनले २ लाख रुपैयांँ पाए ।

प्रतियोगितामा अनिस थापा चौथो स्थानामा रहे । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । त्यसैगरी, किरण बोगटी पाचौँ, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दशौं स्थान हांसिल गरे ।

पाचौँदेखि १० औं स्थानसम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दूरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधी जितेकी हुन् ।

यस्तै, नेपाली सेनाको पुर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थानमा आउन सफल भइन् ।

एपीएफकी पुष्पा भण्डारीले सो दूरी १ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आइन् । विजेता श्रेष्ठले स्वर्ण पदक सहित २ लाख, न्यौपानेले रजत पदक र १ लाख ६० हजार तथा भण्डारीले कास्य पदक र १ लाख २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्धितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए ।

खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार प्रदान गरे ।

म्याराथन, हाफ म्याराथन तथा पाँच किमि दौडको सुरु तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६ (चैत २४ शनिवार) को अवसरमा नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियाँ दुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *