सुनसरीका पाँचवटा पालिकामा कर्फ्यु जारी

विराटनगर । सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ ।

शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो । सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको हो ।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको भएपछि प्रहरीले ५१ राउण्ड हवाई फायर गर्नुपरेको थियो । भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए ।

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो । त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *