विराट गोल्डकपको फाइनलमा मोरङ र मच्छिन्द्र

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसी काठमाडौ र घरेलु टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

सांग्रीलाले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई ३–२ गोलले र सेमिफाइनलमा एपीएफलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा कोलकाताका साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सांग्रीलाले सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।

यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कालकाताले जितेको थियो ।

२०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौं संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । त्यसपछि आठौं संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो ।

विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’

यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले बताए । ‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को शनिबार हुन्छ ।’ उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

उनका अनुसार सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले बताए ।

सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र उत्कृष्ट खेल प्रदर्शन गर्ने भएकाले उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’ लिग बिजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

चैत १५ गते सुरु भएको प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *