काठमाडौंमा पानी वितरण सहज बनाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौं उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभामा उनले लापरवाही र कमजोरीको अध्ययन गरी खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताए ।

उनले भने, ‘झन्डै ३५ अर्ब खर्च भइसकेको मेलम्ची खानेपानी परियोजनाको केयूकेल अन्तरगत आयोजना कार्यान्वयन निर्देशनालयले चक्रपथभित्र ८० प्रतिशत खानेपानी वितरणको काम सकेर वितरण गरेको भनेपनि कुनै पनि स्थानमा पानी वितरण हुन सकेको छैन । यो कसको लापरवाही र कमजोरी हो, यसको अध्ययन गरी खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था गर्नुपर्छ ।’

उनले स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक संविधानमा नै राखिए पनि काठमाडौंको जनताको घरको धारामा कालो ढल आउने भन्दै यसको व्यवस्था छिटो गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो । तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होइन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ । शहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिए वापत केयूकेललाई बढी पैसा तिर्न बाध्य छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *