नेपाली चिया चीन निर्यात हुने

काठमाडौं । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएको छ । यसका लागि चिनियाँ व्यवसायीको टोली इलाम पुगेर चिया क्षेत्रको भ्रमण गर्नुका साथै अध्ययन समेत गरेको छ ।

चिया खेती, प्राविधिक पक्ष, विषादी प्रयोगको अवस्था जस्ता विभिन्न कुराको अध्ययन गरेका उनीहरुले नेपाली चिया गुणस्तरीय रहेको जनाएका थिए ।

उनीहरुले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोभन्दा धेरै चिया अर्डर गरेको इलामका व्यवसायीले बताए ।

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य संघको पहलमा चिनियाँ चिया व्यवसायी नेपाल आएका थिए ।

चिया व्यवसायी चिरन दाहालका अनुसार चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको थियो ।

चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसानसँग कुराकानी पनि गरेका थिए ।

चियाको पहिलो टिपाइ शुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले माग गर्नु उत्साहजनक भएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले बताए ।

नेपालमा उत्पादित चियाको मुख्य बजार भारत हो ।करिब ८० प्रतिशत चिया भारतमा निर्यात हुने गरेको छ ।

समुद्रपारका केही मुलुकमा पनि थोरै परिमाणमा नेपाली चिया निर्यात हुँदै आएको छ । अब भने ठूलो बजार रहेको चीनमा पनि नेपाली चिया निर्यात बढ्ने सम्भावना देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *