आइपीएल शुक्रबारदेखि, पहिलो खेल चेन्नई र बैंग्लोरबीच

काठमाडौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) शुक्रबारदेखि सुरु हुँदै छ ।

आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन् ।

प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको विकल्प खोजेको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका धोनी फ्रेन्चाइज क्रिकेट आइपीएल भने खेल्दै आएका छन् ।

धोनीको ठाउँमा चेन्नाईले ऋतुराज गायकवाडलाई कप्तान बनाएको छ । धोनीको नेतृत्वमा रहेको चेन्नईले गत सिजनको फाइनल खेलमा गुजरात जाइन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

धोनीले कप्तानी छाडेको यो पहिलो पटक भने होइन । टिमले यसअघि २०२२ को सिजनमा पनि कप्तान परिवर्तन गरेको थियो ।

त्यतिबेला अलराउन्डर रवीन्द्र जडेजा कप्तान भएका थिए । तर, चेन्नईको लगातार खराब प्रदर्शनपछि जडेजाले राजीनामा दिएपछि पुनः धोनी नै कप्तान भएका थिए ।

चेन्नईका नयाँ कप्तान गायकवाड सन् २०१९ मा टोलीमा सामेल भएका थिए । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् ।

यस प्रतियोगितामा उनको नाममा एक शतक र १४ अर्धशतक छ । गत सिजन गायकवाडले १६ खेलमा ५९० रन बनाएका थिए । चेन्नईलाई उपाधि जिताउन युवा खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

चेन्नई सुपर किंग्सका पूर्व कप्तान महेन्द्रसिंह धोनी आफ्नो आईपीएल करिअरको अन्तिम सिजन खेल्न सक्नेछन् । कप्तानमा अचानक परिवर्तन गरेपछि उनले यो सिजनपछि आइपीएलबाट सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

४२ वर्षीय खेलाडीले चेन्नईका लागि २१२ खेलमा कप्तानी गरेका छन् । उनीबाहेक सुरेश रैनाले पाँच खेलमा र रवीन्द्र जडेजाले आठ खेलमा टोलीको नेतृत्व गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *