गृहिणीका समस्या बुझ्दै महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नभएको भन्दै कार्कीले संविधान प्रदत सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएको बताइन् ।

मेयर नागेश कोइरालाले आफ्ना समस्याबारे खुलस्त राख्न आग्रह गरेका थिए । उनले केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गरे । विराटनगरको सरसफाईमा गृहिणीहरूको अहम् भूमिका हुने चर्चा गर्दै मेयर कोइरालाले घरआँगन मात्रै नभएर आफ्नो घर अगाडिको सडकसमेत सफा राख्न आग्रह गरे ।

‘तपाईंहरूले आफ्नो घर आँगनसँगै अगाडिको सडक पनि सफा राख्नुहोस्,’ उनले भने, ‘सबै घरको अगाडि सफा भए समग्र विराटनगर सफा हुन्छ ।’

मेयर र उपमेयरको उपस्थितिमा विराटनगरका सबै वडाका गृहिणीहरूलाई बोलाएर उनीहरूका समस्या र सुझाव सुनेको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।

यसरी कार्यक्रम गर्दा गृहिणीहरूमा बोल्ने क्षमताको विकास र आफ्ना समस्या कहाँ गएर कसरी राख्ने भन्ने विषयमा जानकारी हुने थपलियाको भनाइ थियो । न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपानेको समेत उपस्थितिमा भएको कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण र रोजगारी दिन प्रमुखता साथ उठाएका थिए । मदिरा सेवनले गर्दा श्रीमान र ससुराले घरमा दुःख दिने गरेको गुनासो पोखेका थिए ।

विराटनगर वडा नम्बर १८ की ६५ वर्षीया पार्वतीदेवी यादवले मदिराका कारण गृहिणी महिलाहरूले समस्या झेल्नुपरेको दुखेसो पोखिन् । उनले मदिराको बिक्री वितरण रोक्नुपर्नेमा जोड दिइन् ।

विराटनगर–१४ की मुन्नीदेवी यादवले बेरोजगार भएका कारण घरव्यवहार चलाउन समस्या भएकाले जागिर मागिन् । बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत अपहेलित हुनुपरेको उनको भनाइ थियो । विराटनगर–१८ की शर्मिला साहले सडक बनाइदिन आग्रह गरिन् ।

उनले सडक नबन्दा छोराछोरीलाई विद्यालय जान निकै समस्या भएको गुनासो पाखिन् । विराटनगर–१२ की सुशीलादेवी राजवंशीले विभिन्न तालिम सञ्चालन गरेर गृहिणीहरूलाई स्वरोजगार बनाउन आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *