गठबन्धनअनुसार कोशी सरकार बनाउने एमालेको निर्णय

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकार परिवर्तन गर्ने पहल गर्ने भएको छ । मंगलबार विराटनगरमा बसेको पार्टीको कोशी प्रदेश समितिको बैठकले केन्द्रीय गठबन्धनअनुसार कोशी प्रदेश सरकार निर्माण गर्न अघि बढ्ने निर्णय गरेको हो ।

प्रदेशका पदाधिकारी र कोशी प्रदेश संसदीय दलबीच छलफल गरेर सरकार परिवर्तनको लागि केन्द्रमा लविङ गर्ने निर्णय भएको जनाइएको छ ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कोशीमा केन्द्रको गठबन्धन अनुसार सरकार बनाउन प्रदेश संसदीय दलका पदाधिकारीसँग छलफल गरेर केन्द्रमा सुझाव दिने निर्णय भएको छ ।

बैठकले इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनमा सबै शक्ति केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । यसका लागि कार्ययोजना बनाइएको एमालेले जनाएको छ ।

एमाले इलामा जिल्ला समितिले इलाम–२ को उपनिर्वाचनमा उम्मेद्वार बन्ने ६ जना आकांक्षीको नाम प्रदेशलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई जस्ताको तस्तै माथि पठाउने निर्णय भएको अध्यक्ष खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *