प्राध्यापक विष्ट हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

काठमाडौं । मीनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो ।

उनको हत्या सबिता थापा भनिने सोभिता थापा र उनका सहोदर भाइ विनोद थापासहित तीन जनाको समूहले गरेको जनाइएको छ ।

कुटपिटपछि सिकिस्त घाइते भएर बेहोस बनेका उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

सीआइबी कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

डिएसपी केसीका अनुसार धर्मराज र सोभिताबीच सामान्य चिनजान थियो । तर धर्मराजले सोभितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए ।

उक्त कुरा सोभिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए । दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताइन् ।

उनकाअनुसार योजना बनाएसँगै सोभिताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन् ।

त्यहाँ बिनोद र उनका साथी बसिरहेका थिए । धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए ।

बिनोद, रञ्जन र राजीव त्यहीबेला पक्राउ परेका थिए । उनीहरू सजाय भोगेर छुटिसकेका छन् । थापालाई प्रहरीले अदालतमा बुझाएको कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *