प्रधानमन्त्रीलाई प्रश्न- भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण कहिले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट भूकम्पको झन्डै पाँच महिनापछि पुनर्निर्माणको काम अगाडि बढाउने आश्वासन दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी बनेका प्रधानमन्त्री दाहालले जाजरकोटमा भूकम्प गएको झन्डै पाँच महिनापछि पुनर्निर्माण शुरु गर्ने बताए । उनले जाजरकोटसँगै डोटी र बझाङमा पनि भूकम्पपछिको पुनर्निर्माण कार्यलाई सरकारले सिघ्र शुरु गर्ने आश्वासन दिए ।

माओवादी सांसद जर्नादन शर्माले जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्पले गरेको भौतिक क्षतिको पुनर्निर्माण गर्न बजेटको व्यवस्था गरी कहिलेबाट सरकारले काम शुरुआत गर्छ भनेर सोधेको प्रश्नमा दाहालले शीघ्र पुनर्निर्माणको काम अगाडि बढाउने बताए ।

‘जाजरकोट, बझाङ र डोटीको पुनर्निर्माणको सन्दर्भमा विपदप्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि २०८० का आधारमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको कार्यलाई दिने विषय सरकारको उच्च प्राथमिकतामा छ र अब यो कार्य शीघ्र प्रारम्भ गरिनेछ’ प्रधानमन्त्री दाहालले भने ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो । २६ हजारभन्दा बढी घरहरूमा पूर्ण रूपमा क्षति पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *