‘संसदमा भत्तामात्रै खाने र सत्तामात्रै चलाउने छन्’

काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन् ।

प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम विषय भए पनि त्यसमा ह्रास हुनेक्रम बढ्दो रहेको बताए ।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानविन हुनुपर्छ । कारबाही सिफारिसका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ,’ उनले भने, ‘संसदमा लामो समयदेखि उच्चस्तरीय छानविन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन ।’

सांसद साँच्चिकै देश र जनताप्रति जिम्मेवार छन् भने सदनमा नाटकवाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्नेमा उनको जोड थियो ।

महरले त्यसरी गठित समितिले २०१७ सालयताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए ।

समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टीकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको भनाइ छ ।

‘कानुन र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो । तैपनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हु्न्छ’ उनले भने । यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनले बताए ।

संसद जनताप्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ । संसदमा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए । यसले जनउत्तरदायित्वन देखिएको उनको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *