शुक्रबारबाट प्रदर्शनमा आउँदै ‘महाजात्रा’

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ ।

नेपालसहित विश्वभर एकसाथ रिलिज हुन लागेको यो फिल्मले ‘यू’ सर्टिफिकेट पाएसँगै सबै वर्गका दर्शकलाई फिल्म हेर्न बाटो खुला भएको छ ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले सबै वर्गका दर्शकलाई लक्षित गरेर फिल्म बनाइएको बताए ।

‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो । यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन । यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने ।

अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए । अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए ।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *