धरानमा ‘महाजात्रा’ टिम, मेयरले गरे हरिवंशको तारिफ

काठमाडौं । आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ को टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । फिल्म युनिटले मंगलबार धरानमा ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ कार्यक्रम राखेको थियो ।

कार्यक्रममा उपस्थित धरान उप–महानगरपालिकाका मेयर हर्क साङपाङले फिल्मका अभिनेता हरिवंश आचार्यको प्रशंसा गर्दै उनले अभिनय गरेको फिल्म राम्रो हुने दाबी गरे ।

‘अभिनेता हरिवंश आचार्यलाई मैले हाँस्न र बाँच्न सिकाउने कलाकारका रुपमा बुझेको छु । यो फिल्म राम्रो बनेको छ भन्नेमा ढुक्क छु । किनकी हरिवंश जस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन’, उनले भने ।

उनले नेपाली फिल्मलाई स्थानीय सरकारको बजेटमा समेट्ने बताए । ‘नेपाली फिल्मलाई सम्बोधन गर्नेगरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हेर्यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ । धरानमा फिल्म छायाकंनका लागि सहज हुनेगरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु,’ हर्कले भने ।

अभिनेता हरिवंशले धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै आफूले धरानलाई ‘छायाङ्कन गन्तव्य’का रुपमा चिनेको बताए ।

फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । अभिनेता रवीन्द्र झाले धरानमा फिल्म स्टुडियो निर्माण भएको खण्डमा काम गर्न सजिलो हुने जनाए ।

प्रदीप खड्काको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *