महाशिवरारात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो

काठमाडौं । आज महाशिवरारात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदैछ ।

आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ ।

पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रीमा कम्तिमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ ।

पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड-रक्सी तथा मासु पूणर्रूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब छ सय जना स्वयम्सेवक परिचालन गरेको छ ।

(नेपाल न्युज बैंक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *