विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी, ३ जना पक्राउ

काठमाडौं । रोजगारीका लागि विदेश पठाइदिने भन्दै लोभ देखाएर ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने म्याग्दीको बेनी–४ का ३८ वर्षीय सुनील शाही, टोखा बस्ने नवलपारसीको कावासोती–१७ की सुशीला राई र ललितपुरको भैंसेपाटी बस्ने मोरङको उर्लाबारी–९ की ३४ वर्षीया लक्ष्मी लिम्बू छन् ।

शाहीले सुनबहादुर गोलेलाई मासिक ७० हजार आम्दानी हुने माल्दिभ्समा सवारी चालकको काम लगाइदिन्छु भन्दै पटक पटक गरेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

उजुरी परेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ । उनले केयरगिभरको कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक ४ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी २९ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन जाहेरी आएको थियो । लिम्बुलाई ललितपुरको भैसेपाटीबाट पक्राउ गरिएको हो ।

यस्तै, दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् । उनले भीमबहादुर सिंह समेत २ जनालाई दुबईमा मासिक एक लाख तलब हुने जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन ।

त्यसका लागि पटक पटक गरी ५ लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको जाहरी आएपछि टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *