राष्ट्रिय टी-२० क्रिकेटः लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ९० रनमा सीमित भयो । गण्डकीका लागि दिपक डुम्रेले २८ रन बनाउँदा इश्वर क्षेत्रीले १८ रन र समिर कँडेलले ११ रनको योगदान दिए ।

लुम्बिनीका प्लेयर अफ द म्याच वीर मगरले ४ विकेट लिए । उनले३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट बाँडे ।

जवाफमा ९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले ३४ रन जोड्दा आकाश त्रिपाथी २९ रनमा अविजित रहे ।

देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवास भण्डारीले २ विकेट लिँदा सन्दिप पराजुलीले १ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १७ रनमा सीमित भयो ।

कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरी २३, फिरदोस अन्सारीले २२ रन, दिपेश कँडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए ।

मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारीले ३ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए । तिवारीले ४ बलमा १ रन दिए । राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए ।

जवाफमा १ सय १८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । मधेशका लागि अरनिको यादवले २७ रन बनाउँदा मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए ।

कोशीका दिपेश कँडेलले ३ विकेट लिए । दिपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले समान १–१ विकेट लिए ।

शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपाल प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *