यस्तो छ भगवद्गीतामा होलीको अर्थ

आज फागुपर्व अर्थात् होली काठमाडौँको वसन्तपुरमा अष्टमीको दिनदेखि चिरोत्थान गरी शुभारम्भ गरिएको यस पर्वलाई फागुनशुक्ल पूर्णिमाको दिन चिरदाह गरेपछि समापन गरिन्छ ।

यस वर्ष यो पर्व पहाडी जिल्लामा फागुन २१ गते सोमबार र तराईका जिल्लामा २२ गते मंगलबार परेको छ ।

जहाँसुकै बसेका भए पनि सारा हिन्दुहरूले मनाउने गरेको पर्व हो यो । यस अर्थमा करिब डेढ अर्ब हिन्दुको साझा पर्व हो भन्दा फरक पर्दैन ।

नेपालमा हिन्दुमात्र होइन गैरहिन्दु समुदायले पनि अबीर र रङ्गमा रमाउँदै होली मनाउने गरेका छन् । यस अर्थमा होली आपसी सद्भावको मात्र नभई भाइचाराको समेत पर्व हो ।

नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको यस पर्वले आपसी द्वेष र द्वन्द्वलाई तोडेको छ र सँगसँगै नेपालीहरूलाई जोडेको छ ।

होली पर्वका बारे पौराणिक ग्रन्थहरुमा विशेष चर्चा गरिएको छ । त्यसैअनुसार यो पर्वका महत्व पनि दर्शाइएको छ ।

ग्रन्थअनुसार दाजु हिरण्यकश्यपुको आदेशमा विष्णुभक्त भतिजा प्रह्लादलाई मार्न अग्निकुण्ड प्रवेश गरेकी होलिका आफैँ जलेर भष्म भएकी थिइन् रे । त्यसैको सम्झनामा होलीपर्व मनाउन शुरु गरिएको किम्वदन्ती छ ।

भविष्य पुराणका अनुसार सत्ययुगमा बालकहरूले आगो बालेर होहल्ला गरी ढोण्ढा नामक राक्षसको आतङ्क शान्त पारेका थिए । त्यसैको खुसियालीमा यो पर्व मनाउन शुरु गरिएको मानिन्छ ।

अर्को किंवदन्तीअनुसार यसको गर्भाधान व्यासजीले सत्य युगतिरै भएको देखाएका छन् भागवत र भविष्य पुराणमा । होलिका दहनको प्रसङ्ग भागवतमा आएको छ तर यसको बीजाङ्कुर खोज्दै जाने हो भने वैदिक संहिताहरूमै भेटिन्छ ।

शान्ति, सद्भाव, सहयोग, सहकार्य, सहिष्णुता र मेलमिलाप नै फागु दर्शनको परिभाषा हो । यसैको वकालत गरेका छन् वैदिक ग्रन्थहरूले । ऋषिमुनिहरू सर्वत्र शान्तिको कामना पनि गर्थे र सोही अनुसारको आचरण पनि गर्थे ।

ठाउँ ठाउँमा गुरुकुल खोली पठनपाठनको व्यवस्था मिलाएका थिए । फलतः कोही पनि कसैको दुष्मन वा शत्रु हुन सक्दैनथे । कदाचित कोही भेटिए आत्म दर्शनको आदर्शले । आप्लावित गरी मेटाउने गर्थे । जसले गर्दा प्रकृतिगत विषम जातिहरू पनि आपसमा मित्रता गर्थे । बाघ र बाछो मिल्थे । सर्प र मुसो मिलेर बस्थे ।

गीतामा कृष्णले ‘सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि’ भनेका छन् । (श्रीमद्भवत गीता ६।२९) अर्थात् सर्वभूतमा आफूलाई र आफूमा सर्वभूतलाई देख्ने प्रयास गर्नु नै मानवता हो भन्ने गीता दर्शनको मान्यता हो । भागवतमा पनि जीवो जीवस्य जीवनम् भनेका छन् व्यासजीले ।

यो पनि मानवता दर्शनकै पक्षपोषण हो । जीव नै जीवको जीवन हो, जहाँ एकले अर्कोलाई बचाउने काम भएको हुन्छ त्यहीँ जीवन नै सार्थक हुन्छ भन्ने निचोड हो यसको । यसैको सेरोफेरोमा घुमेको छ फागु दर्शन, जहाँ एकले अर्कोप्रति सद्भाव मात्र राख्दैन आपसमा अभिन्नता बोध गर्ने कामसमेत भइरहेको हुन्छ ।

फागु पर्व मनाउनुको अर्थ रङ्ग र अबीरको रसमा सरोवर हुनु हो । यसमा न धनी र गरिबको भेद हुन्छ न ठूला र सानाको । न उचनिचको भावले स्थान पाउँछ न छुवाछूत भावको गुञ्जाइस छ ।

हर्ष र उमङ्ग पनि यसैमा छ शान्ति, सद्भाव र आनन्द पनि यसैमा । आपसी सद्भाव, सहयोग, सहकार्य र सहिष्णुता लगायत समग्र मानव सभ्यताको आदर्शलाई आत्मसात् गरेको छ यस पर्वले ।

उपनिषद्ले आनन्दलाई ब्रह्म भनेको छ । ‘आनन्दो ब्रह्मेति व्याजानात्’ (तैत्तिरीयोपनिषद् षष्ठ अनुवाक) । यस अर्थमा यस पर्वलाई ब्रह्म प्राप्तिको पर्वको रूपमा पनि लिन सकिन्छ ।

आनन्दको रसमा सरोवस गराई जीवलाई ब्रह्मसँग मिलाउने प्रयास गरेको छ यस पर्वले । फागु वा रङ्गको रसले भिजेका बेला कसैले पनि यो र त्यो भन्ने कुराको भेउ पाएका हुँदैनन् । आवाल बृद्ध वनिता सबै एकअर्र्केमा आवद्ध भएका हुन्छन्, मिलिरहेका हुन्छन् । यही नै जीव र बह्मको मिलनको अवस्था हो ।

गोपिनीहरू रासको रसमा डु्बेका बेला आफूलार्ई बिर्सन्थे र सर्वत्र कृष्ण नै देख्थे । त्यतिबेला आफू पनि कृष्णमै लीन भइरहेको पाउँथे । यही नै ब्रह्म सम्बन्धको अवस्था हो ।

यस्तो चमत्कार रसको सागरमा डुबेको बेला मात्र हुन्छ । फागु रसमा पनि यस्तै चमत्कार भइरहेको हुन्छ । जतिबेला फागु दर्शनको समाधि लाग्छ त्यतिबेला को के हो र को कहाँ छ छ भन्ने कुराको भेउ नै पाइरहेका हुँदैनन् फागुका खेलाडीहरू । सबैलाई आफै देख्छन् र त्यस्तै किसिमको व्यवहार भइरहेका हुन्छन् उनीहरूबाट । त्यसैले यस पर्वलाई ब्रह्म साक्षात्कार गराउने पर्व भन्नुपरेको हो ।

फागु पर्वका केही विकृति पनि छन् । एक हप्ता अघिदेखि लोला हान्ने र हिलो पानी छ्यापेर अरूलार्ई हैरान पार्ने संस्कृति होइन विकृति हो । यसले पर्वको उद्देश्यपूर्ति पनि गर्दैन र संस्कृतिको सही परिचय पनि दिंँदैन ।

रङ्गमा हानिकारक रसायन मिसाएर छर्ने गरेको पनि पाइन्छ । यो त झन् गम्भीर समस्या हो । यसले अरूलाई मात्र होइन आफैलाई समेत रोगी बनाउँछ । पर्व मनाउँदा अभिभावकले आफ्ना नानीहरूलाई सतर्क गराउनु पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *