शाली नदी क्षेत्रमा स्वस्थानी मेलाको तयारी

काठमाडौं । ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्वको स्थल साँखुको शाली नदी क्षेत्रमा स्वस्थानी मेलाको तयारी पूरा भएको छ । माधवनारायण र स्वस्थानीको पूजास्थल शाली नदी क्षेत्रमा एक महिना मेला लाग्छ ।

बिहीबार सुरु हुने मेलाका लागि उक्त क्षेत्र सरसफाइ र सवारी पार्किङ व्यवस्थापन गरिएको छ । परापूर्वकालदेखि यहाँ महिनासम्म श्रद्धालु भक्तजनको चहलपहल हुने गरेको छ ।

हरेकवर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने मेला यसपटक माघ ११ देखि फागुन १२ गतेसम्म चल्दैछ । व्रत र मेलाका लागि शाली नदी परिसरमा धुमधामका साथ तयारी छ ।

यहीँ आएर एक महिने व्रत बस्न चाहने व्रतालुहरुको सुविधाका लागि पहिले नै लगत संकलनका लागि नाम दर्ताको व्यवस्था गरिएको छ ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फपिङ, पनौती र चाँगुनारायण) स्थान लगिने क्रममा आवश्यक सरसामान ओसार्नका लागि गाडीको व्यवस्था गरिने मेला आयोजकले जनाएका छन् ।

व्रतालु हिँड्नका लागिसहयोग गर्न समितिले नेपाल स्काउट संघ, रेडक्रस सोसाइटी शंखरापुर उपशाखा, स्वयमसेवक तथा विभिन्न संघ सस्थाहरूको समन्वयमा बन्दोबस्तका सामानहरु सहित स्वयमसेवकहरु परिचालन हुनेछन् ।

माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार मेलाको तयारी पूरा भएको छ । ‘हिँड्न नसक्ने अवस्थाका व्रतालुहरुका लागि आवश्यक सहयोग लिइ गन्तव्यसम्म पुर्याउने व्यवस्था पनि गरिएको छ,’ उनले भने ।

माधवनारायण व्रत र शालि नदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा यहाँ बर्सेनि घुइँचो रहने उनले बताए । ‘भक्तजनहरुको आस्था, विश्वासका कारण बर्सेनि आगमन बढ्दो क्रममा छ,’ उनले भने, ‘यो वर्षको मेलामा २२ देखि २५ लाखसम्म धार्मिक पर्यटकहरुको आगमनहुने अनुमान गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *