प्रेरक सगुना : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास

मुगु । जति पढेपनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउँदैनन् भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् ।

उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्रम गर्नेका लागि स्वदेशमै रोजगारी सम्भव हुन्छ भन्ने देखाएको छ ।

२५ वर्षीया परियार स्टाफ नर्स हुन् । उनको आत्मविश्वास यतिबेला लोकसेवाका परीक्षा तयारी गर्ने र चासो राख्नेका लागि चर्चाको विषय बनेको छ । दृढ संकल्पलाई उनले सफलतामा परिणत गर्न सफल हुनु युवामाझ प्रेरक पक्ष भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका–१ छत्यालवाडा गाउँकी परियार परिश्रममा विश्वास राख्छिन् । उनले सुरुमा संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको परीक्षामा नाम निकालेकी हुन् । यसलगत्तै उनले लगातार ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेकी छन् ।

उनले गतवर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी हुन् ।

दुर्गम ठाउँ, सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ, कहिले भर्ना खुल्छ, कहिले प्रवेश परीक्षा हुन्छ भन्ने केही थाहा हुँदैन थियो । दुर्गम जिल्ला मुगुको गरिब तथा दलित परिवारकी छोरीलाई नर्सिङ पेसासम्मको यात्रा सहज थिएन । आफ्नै गाउँनजिक रहेको सामुदायिक विद्यालय महाकाली माविबाट एसएलसी उत्तीर्ण गरेकी उनले सानैदेखि नर्स बन्ने सपना बुनेकी थिइन् ।

पढाइमा अब्बल नै रहेकी उनलाई परिवारको पूर्ण साथ रह्यो । उनले महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन् । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ‘ब्याक’ भएकी सगुना यसपटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।

सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भएलगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन् । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनी थिइन् । तर, कोरोना महामारीका कारण रोकियो ।

महामारीकै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरबन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छाडेर काठमाडौं पुगिन् । काठमाडौंमा एक महिनाजस्तो बसेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो ।

त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षापश्चात नाम निस्के ठीकै छ, खाली किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् ।

त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा उनको नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् ।

आफ्नो चाहनाअनुसार निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिने उनी बताउँछिन् । ‘आफूभित्र चाहना, इच्छा, त्यहीअनुसार दृढता र लगाव हुनुपर्यो, असम्भव भन्ने केही छैन । अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् ।

नर्सले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको उनी बताउँछिन् । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *