दक्षिण कोरियाली संसद कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ ।

त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ ।

पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाइरहेका थिए ।

यसमा ठूलो संख्यामा समर्थन जुट्दै गएको पाइएपछि दक्षिण कोरियाका राजनीतिक दलहरु र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् ।

दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ । तर पछिल्लो समय विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ ।

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ्य राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरु कुकुरको मासु भोजन गर्छन् ।

यस्तो छ कानूनी प्रावधान

त्यहाँको राष्ट्रिय सभाले आज कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने विशेष विधेयक पारित गरेपछि त्यो व्यवसायमाथि कानुनी प्रतिबन्ध लाग्ने छ ।

सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) ले पशु अधिकारको बढ्दो चेतना र बढ्दो संख्याको बीचमा मासु बेचबिखनको उदेश्यले गरिने कुकुरको प्रजनन, काटमार र बिक्री वितरणप्रतिबन्ध लगाउने विशेष विधेयकको लागि संयुक्त रूपमा अभियान चलाएका थिए ।

यो ऐन पास भएपछि लामो समयदेखि कुकुरको मासुको व्यवसाय गर्दै आएका व्यवसायीको रोजगारी संकटमा पर्ने भएकाले उनीहरुलाई अल्पकालका लागि अनुदान दिन ती पार्टीहरुले सरकारसँग माग पनि गरेका छन् ।

यो कानून पास भएपछि पनि तीन वर्षपछि २०२७ मा मात्र कार्यान्वयनमा आउने बताइएको छ । त्यसपछि यसलाई उल्लङ्घन गर्नेहरूलाई अधिकतम दुई वर्षको जेल सजाय वा ३ करोड कोरियन वान अर्थात् २२ हजार ७६८ अमेरिकी डलरसम्मको जरिवाना हुन सक्छ ।

सरकारी तथ्यांकअनुसार कोरियामा कुकुरको मासुबाट बनेको खाना बिक्री गर्ने करिब १ हजार १ सय ५० कुकुर फार्म, ३४ वटा बुचरिङ व्यवसाय, २ सय १९ वितरक र १ हजार ६ सय रेष्टुरेन्टहरू सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *