बालेन र हर्कको ‘क्यामेष्ट्री’

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका थिए ।

त्यसअघि उनीहरुबीच सामाजिक सञ्जालमा नोकझोँक चलिरहेको थियो । छेडछाड चलिरहन्थ्यो । हिजोआज उनीहरुको दोस्ती जमेको छ । जब उनीहरुबीच पहिलो भेट भयो, दुवैले विकास र सहकार्यका विषयमा छलफल गरे । त्यसयता बालेन र हर्कबीच बाक्लै उठबस चलिरहेको छ । हरेक पटक काठमाडौं उत्रिएपछि हर्कको सेड्युलमा बालेनसँगको भेट छुट्दैन ।

स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेर विजयी भएका उनीहरुबीचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ । १२३औं धरान स्थापना दिवसको उद्घाटन समारोहमा बालेनको उपस्थितिले धरानबासी आश्चर्यमा परे । हत्तपत्त सार्वजनिक कार्यक्रमहरुमा नदेखिने बालेन धरान पुग्नुलाई रोचक एवं अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अर्थ्याउने गरेका छन् । केही साताअघि बालेनसँगको भेटपछि हर्कले दिएको अभिव्यक्तिले उनीहरू पार्टी खोल्ने थिए, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ ।’ त्यतिमात्रै होइन ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ ?’ भनेर प्रश्न पनि तयारीमा लागेको संकेत थियो । हर्कले सामाजिक सञ्जालमै लेखेका थिए, ‘जित हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन् विशाल बन्छौँ धन्दै नमान !’ त्यसपछि लगत्तै हर्कले लेखेका गरेका थिए ।

हुनत उनीहरुका गतिविधि हेर्दा र अभिव्यक्ति सुन्दा नयाँ दल खोलिहाल्ने अवस्थाको देखिँदैन । शीर्ष दलमा भित्रिहाल्छन भन्ने अनुमान लगाउन पनि सकिदैन । तर स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिइसकेका छन् ।

नेपालमा पुराना र स्थापित भनिएका राजनीतिक दल र संघीय सरकारप्रति आक्रमक अभिव्यक्ति दिंदै आएका हर्क र बालेनले नयाँ दल खोले भने अनौठो मान्न नहुने विश्लेषक एवम लेखक लाओस राई बताउँछन् ।

‘दलीय र संसदीय अभ्यास गरिरहेको मुलुकमा नयाँ दल खोल्नु अनौठो होइन तर सिद्धान्त र दिगोपना प्रमुख कुरा हो । बालेन र हर्कसँग जनमत होला तर नेपालको राज्य व्यवस्था र अहिलेको परिपाटीसँग जुधेर कसरी अघि बढ्न सक्छन् भन्ने कुरा प्रमुख हो,’ उनी भन्छन् ।

उपमहानगरको निम्तोमा पहिलो पटक धरानको सार्वजनिक कार्यक्रममा उत्रिएका बालेनले धरानको सांस्कृतिक सौन्दर्यताको वर्णन गरी श्रम संस्कृतिको प्रशंशा गरेका थिए । साथै उनले हर्कले जारी राखेको श्रमदानलाई विकास निर्माणसँग जोडेको प्रसंगलाई तारिफ गरेका थिए ।

कतिपय कानुन, नीति, नियम र ऐनको ख्याल समेत नगरी परिवर्तनका लागि उत्रिएका बालेन र हर्कको हालको केमेष्ट्रीलाई २०८४ सालको निर्वाचनसम्म नयाँ दलका रुपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ ।

हुनत स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरुले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई समेत समेटेर नयाँ दल खोल्नेबारे धेरै गोप्य बैठक हुनेगरेपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपी, कतिपय विश्लेषकहरुले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *