नेपाल विश्वकप टि-२० मा छनोट

काठमाडौं । ओपनर आसिफ शेखको अर्धतकमा नेपाल आइसीसी टि–२० विश्वकपमा छनोट भएको छ ।
आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले १० वर्षपछि टि–२० विश्वकपमा स्थान बनाएको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।
दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनै पनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।