एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट घनश्याम खतिवडा अध्यक्ष निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।
खतिवडाले ५१२ मत प्राप्त गरे भने ढकालले ४३० मत पाए । खतिवडा मोरङको लेटाङ र ढकाल विराटनगर निवासी हुन् ।
प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उनको एकल उम्मेदवारी थियो ।
कमिटी सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । उनी ५२४ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भए ।
अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदान नगरेको निर्वाचन कमिटीले जनाएको छ ।