भारतसँग १० विकेटले नेपाल पराजित

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । सोमवार राति श्रीलङ्काको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

विश्वस्तरका खेलाडीका अघि नेपाली खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए । नेपाली खेलाडीको प्रदर्शनबाट नेपाली दर्शकमात्र होइन विदेशका दर्शक पनि प्रभावित भएका छन् ।

वर्षाले प्रभावित खेलमा भारतले डकवर्थ लुइस नियमका आधारमा २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो । भारतले २० ओभर १ बलमा १ विकेट पनि नगुमाई लक्ष्य भेटायो ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । रोहितले ७४ र शुभमनले ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभर २ रनमा २ सय ३० रन बनाउँदा अल आउट भएको थियो ।

नेपालका लागि नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।

कुशल भुर्तेलले तीन चौका र दुई छक्कासहित ३८ बनाए । दीपेन्द्रसिंह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।

सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् । बलिङतर्फ भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३र३ विकेट लिए ।

यो हारसँगै नेपाल १ अङ्क पनि नजोडी समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

भारत जितसँगै सुपर फोरमा पुगेको छ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *