आरोहण गुरुकुल विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ ।

आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ ।

विराटनगर र आसपासका विद्यालयले साउन ३१ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ ।

आवेदन दिएकामध्ये ९ वटा विद्यालय छनोट हुनेछन् । छनोटपछि ती विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

पाठ्यक्रममा भएको वा शिक्षक वा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीहरुले नै अभिनय गरी मञ्चन गर्नुपर्ने जनाइएको छ ।

९ विद्यालय र आयोजकको एउटा समेत १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रङ्गमञ्चतर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

‘‘विद्यालयले आवेदन दिएमा त्यसपछिको सम्पूर्ण प्रकृयामा हाम्रो निःशुल्क सहयोग हुनेछ’, क्षेत्रीले भने, ‘यो विद्यालय र विद्यार्थीकै लागि रङ्गमञ्च पुग्ने सुनौलो अवसर हो ।’

विगतका २ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा यसपटकदेखि अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए ।

९ विद्यालय मध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता, अभिनेत्रीलाई अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *